सर्लाहीको ग्रामीण भेगमा लकडाउनको अवज्ञा

सर्लाहीको बजार क्षेत्रमा लकडाउनको पालना भइरहे पनि ग्रामीण भेगमा भने अवज्ञा गर्न थालिएको छ ।

जिल्लाका भित्री बस्तीहरुमा अत्यावश्यक अवस्थामा बाहेक समेत मानिसहरु जथाभावी घरबाहिर निस्कन थालेका छन् । यसले गर्दा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) भित्रने जोखिम बढेको भन्दै वुद्धिजिवीहरुले चिन्ता व्यक्त गरेका छन् । सर्लाहीको दक्षिण–पूर्व भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा मानिसहरु आफूहरु घरबाहिर निस्किएर हिँड्डुल गरिरहेका स्थानीय सञ्चारकर्मी मुकेश झाले बताए ।
झाका अनुसार हरिपूर्वा क्षेत्रमा भारत तथा अन्य मुलुकबाट भर्खरै गाउँ फर्किएकाहरु समेत क्वारेन्टाइनमा नबसी खुलेयाम रुपमा बाहिर हिँडिरहेका छन् । प्रहरीको आँखा छलेर सर्लाहीका अन्य भित्री नगरपालिका तथा गाउँपालिकाका बस्तीहरुमा मानिसहरु जताततै हिँडडुल थर्न थालेका गुनासो आएको हो ।
लकडाउनपछि जिल्ला सदरमुकाम मलंगवासहित लालबन्दी, हरिवन, बयलवास, बरहथवा जस्ता प्रमुख बजार पूर्ण रुपमा ठप्प छन् । तर ग्रामीण भेगमा भने सुरुका केही दिनमा स्थानीय वासिन्दा आफै सक्रिय भएर छेकबार गरी डकडाउनको कार्यान्वयन गराए पनि अहिले भने जथाभावी हिँड्डुल गर्न थालिएको छ । यस्तै सर्लाहीको दक्षिणी भेगस्थित खुला सीमा नाकाबाट खेतबारीको बाटो हुँदै केही मानिस लुकिछिपी जिल्ला प्रवेश गरिरहेका स्थानीय वासिन्दाले बताएका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले डकडाउनको कार्यान्वयन गराउन जिल्लाभर नै प्रहरी परिचालन भइरहेको जानकारी दिँदै व्यक्ति स्वयंको सुरक्षाका लागि घोषणा गरिएको लकडाउनको पालना गरी अत्यावश्यक काम परेको समय बाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन् । उनले नेपाल भारत दुवै तर्फ अहिले लकडाउन चलिरहेको अवस्थामा एक देशबाट अर्को देशमा मानिस भित्रिन नदिन दुवै देशको तर्फबाट सीमा क्षेत्रमा कडा निगरानी गरिरहेको बताए ।