चिकित्सकहरुले अहिले महामारीको रुपमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई सामान्य रुपमा लिएर सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन नगर्न आग्रह गरेका छन् ।
यो महामारीलाई बेवास्ता गरी लापरवाही गरे अकल्पनिय क्षति हुने भन्दै सचेत गराएका हुन् । पछिल्ला केही दिनदेखि सर्लाहीको ग्रामीण भेगका लकडाउनको अवज्ञा गरी मानिसहरुको बिना काम मनपरी रुपमा हिँड्डुल गर्न थालेपछि महामारीको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको हो । तीनै तहको सरकारी तथा स्थानीय प्रहरी प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेपनि सर्लाहीको ग्रामीण भेगमा त्यसको पालना भएको छैन् ।
जिल्लाको बजार क्षेत्र लकडाउनपछि विगत १३ दिनदेखि पूर्ण रुपमा ठप्प रहेपनि गाउँबस्तीमा भने मानिस सामान्य सतर्कता समेत नअपनाई जथाभावी हिँड्डुल गर्न थालेका गुनासो सबैतिरबाट आउन थालेको हो । यो त्यसरी हिँड्ने व्यक्ति र समाज दुवैका लागि खतरा रहेको चिकित्सकहरु बताउँछन् ।
यता स्थानीय प्रशासनले पनि सर्लाहीको ग्रामीण भेगमा लकडाउनको उल्लंघन हुन थालेको पाइएकाले अहिलेको महामारीको गम्भीरतालाई बुझिदिन र लकडाउनको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिरहेको छ ।