लालबन्दी नगरपालिकाले वडा स्तरमा पठाउन थाल्यो राहत सामग्री

556
लालबन्दी नगरपालिकामा वितरणका लागि केही दिनअघि राहत सामग्री तयार पारिँदै । (तस्बिर : उज्यालो अभियान)

सर्लाहीको लालबन्दी नगरपालिकाले निरन्तरको लकडाउनपछि बिहान–बेलुकाको छाक टार्नै मुस्किल परेको परिवारलाई वितरण गर्नका लागि शनिवारबाट वडा–वडामा राहत सामग्री पठाउन थालेको छ ।

पहिलो खेपमा शनिवार वडा नं. २, ५ र ९ मा राहत सामग्री पठाइएको र भोलीबाट क्रमैसँग अन्य वडाहरुमा पठाईने नगरप्रमुख मानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार नगरपालिकामै प्याक गरेर तयार पारिएको खाद्य राहत सामग्री दैनिक रुपमा ज्यालामजदुरी गर्नुपर्ने अवस्थाका मजदुर तथा विपन्न र गरिव परिवारले मात्रै पाउने छन् ।

प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख रुपैयाँ र लालबन्दी नगरपालिकाले सूचना आब्हान गरी खडा गरेको कोरोना भाईरस विपद् विपन्न सहायता कोषमा हालसम्म जम्मा भएको १३ लाखबाट सामग्री खरिद गरी वितरण गर्न सुरु भएको हो । सहायता कोषमा अझै पनि सहयोग प्राप्त भइरहेको नगरप्रमुख खड्काले बताए ।

लालबन्दी नगरपालिकाको राहत वितरण मापदण्ड अनुसार १ जना मात्र सदस्य भएको परिवार लाई प्रति परिवार ५ किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर खानेतेल प्रदान गरिने छ । यसैगरी २ देखी ४ जना सदस्य भएको परिवार लाई प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर खानेतेल तथा ५ देखी माथि सदस्य भएको परिवारलाई प्रति परिवार १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर खाने तेल वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रारम्भिक विवरण संकलन गर्दा लालबन्दी नगरपालिका भित्र अर्थात् १७ वटै वडामा ४ हजार ४३६ परिवारलाई राहत प्रदान गर्नुपर्ने देखिएको र दावी विरोध एवं गुनासो गर्न सूचना आब्हान गरिएकाले लक्षित परिवारको संख्या केही थपघट हुन सक्ने नगरपालिकाका कर्मचारी कोमलहरि गौतमले बताउनु बताए । यस सम्वन्धमा गुनासो सुन्न लालबन्दी नगरपालिकाले सूचना अधिकारी कमलबहादुर कार्कीलाई गुनासो सुन्ने अधिकारी समेत तोकेको छ ।