हरिवनमा राहत सामग्री खरिद गर्न समिति गठन

839
शुक्रबार बिहान हरिवनको सुखेपोखरीमा बसेको सर्वदलिय बैठकका सहभागि । (तस्बिर : उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट मुलुकलाई बचाउनका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका परिवारलाई दिने राहत सामग्री खरिद गर्न हरिवन नगरपालिकाले समिति गठन गरेको छ ।

हरिवन गनरपालिकाले शुक्रबार बिहान हरिवनको सुखेपोखरी मन्दिरमा आयोजना गरेको सर्वदलिय बैठकले अनुगमन समिति एवं राहत सामग्री खरिद गर्ने छुट्टाछुट्टै समिति गठन गरेको हो । बैठकले राहत सामग्री खरिद गर्न उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, नेकपा प्रतिनिधि अर्जुन पन्त, नेपाली कांग्रेसका प्रतिनिधि निरोज कार्की र नगरपालिका कार्यालयका कर्मचारी हरिकृष्ण मैनाली रहेको समिति गठन गरेको मेयर गणेश प्रसाद प्रसाईंले जानकारी दिए ।

त्यस्तै बैठकले प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको संयोजकत्वमा ११ सदस्यीय राहत सामग्री खरिद एवं वितरणका लागि अनुगमन समिति गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा मेयर प्रसाईं, उपमेयर रेणुका पौडेल, नेकपाका अर्जुन पन्त र विदुर प्याकुरेल, नेपाली कांग्रेसका डाकुरनाथ खतिवडा, राप्रपाका दिपेन्द्रप्रसाद मैनाली, सशस्त्र प्रहरी नायव उपरीक्षक सुशिल पराजुली, प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्याय, नगरपालिकाका कर्मचारीहरु खरुदेव चुँडाल र हरिकृष्ण मैनाली रहेका छन् ।

खरिद समितिले शनिबार साँझसम्म राहत सामग्री खरिद गर्ने र आईतबारबाट वितरण सूरु गरिने मेयर प्रसाईंले जानकारी दिए । नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका आर्थिक रुपले विपन्न प्रति परिवारलाई २५ केजी चामल, १ केजी दाल, नुन १ पोका, आलु ३ किलो, खाने तेल १ लिटर, स्वायविन लगायत खाद्यान्न राहत स्वरुप वितरण गर्न लागेको हो ।

राहत वितरणका लागि हरिवन नगरपालिका कार्यालयले केही दिनअघि नगर प्रकोप व्यवस्थापन कोष स्थापना गरेको थियो । शुक्रबार बिहानसम्म उक्त कोषमा ३६ लाख रुपैंया भन्दा बढी रकम जम्मा भईसकेको नगरपालिकाका मेयर प्रसाईंले जानकारी दिए । प्रसाईंका अनुसार नगरपालिका कार्यालयले भैपरी आउने शिर्षकबाट ११ लाख रुपैंया राखेर खोलेको कोषको खातामा विभिन्न संघ संस्था एवं व्यक्तित्वहरुबाट २५ लाख रुपैंया भन्दा बढी सहयोग संकलन भईसकेको छ । शनिबार साँझसम्म विपन्न परिवारको तथ्यांक संकलन भईसक्ने र आईतबारबाट राहत सामग्री वितरणको काम सूरु गर्ने तयारी भईरहेको मेयर प्रसाईंले जानकारी दिए । मेयर प्रसाईंका अनुसार लकडाउनका कारण मजदुरी बन्द हुँदा दैनिक छाक टार्न समस्यामा परेका परिवारलाई राहत सामग्री वितरण गर्न लागिएको हो ।