हरिवन नगरपालिकाद्वारा बालआश्रममा खाद्यान्न सहित राहत सहयोग

590
घुर्कौली स्थित बालगृहमा नविन लामालाई खाद्यान्न सहितको राहत सामग्री एवं मास्क लगाएत स्वास्थ्य सामग्री प्रदान गर्दै मेयर प्रसाईं । (तस्बिर : उज्यालो अभियान)
घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आश्रीत एक बालकको तापक्रम परिक्षण गर्दै स्वास्थ्यकर्मी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिका कार्यालयले आफ्नो नगरक्षेत्र भित्र सञ्चालित दुईवटा बालआश्रमलाई खाद्यान्न, स्वास्थ्य सहित राहत सामग्री प्रदान गरेको छ ।

हरिवन नगरपालिका–५, घुर्कौली स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृह एवं वडा नं. ९ सुखेपोखरी स्थित सर्भिस फर पिस नेपालद्वारा सञ्चालित अनाथ बालआश्रममा नगरपालिकाका मेयर गणेश प्रसाईं आफै पुगेर राहत सामग्री प्रदान गरेका हुन् । घुर्कौलीको बालगृहलाई ३ क्वीन्टल चामल, २५ किलो दाल, ७ लिटर खाने तेल, ५० किलो आलु, १० केजी नुन, ६० थान मास्क, डिटोल साबुन १२ पिस, सेनेटाईजर आधा लिटर र ५५ पिस खाजा सेट प्रदान गरिएको मेयर प्रसाईंले जानकारी दिए ।

त्यस्तै मेयर प्रसाईंका अनुसार सुखेपोखरी स्थित बालआश्रममा डेढ क्वीन्टल चामल, ७ किलो दाल, खाने तेल ३ लिटर, आलु ५० किलो, नुन ५ किलो, मास्क २५ पिस, डिटोल साबुन ६ पिस, सेनेटाईजर ३०० मिलिलिटर र २५ वटा खाजा सेट प्रदान गरिएको छ । राहत सामग्री वितरणका क्रममा स्वास्थ्यकर्मीबाट दुईवटै बालआश्रममा आश्रीत बालबालिकाको इन्फ्रारेटेड थर्मामिटरले ज्वरो समेत परिक्षण गराईएको मेयर प्रसाईंले जानकारी दिए ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बचाउनका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन गरेका कारण बालआश्रममा आश्रीत बालबालिकालाई खाद्यान्न अभाव भएकाले सहयोग गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनको बेलामा नगरपालिका कार्यालयले प्रदान गरेको खाद्यान्न एवं स्वास्थ्य सामग्रीले बालआश्रमलाई ठूलो सहयोग पुगेको भन्दै आश्रमका सञ्चालकहरु सुरेन्द्र लामा एवं सरोज खनालले नगरपालिकाप्रति आभार प्रकट गरेका छन् ।