सर्लाहीका २८ एम्बुलेन्स चालकलाई ‘पीपीई’ प्रदान, सहयोगको नाममा लकडाउनको ‘धज्जी’ उडाउन थालियो

लालबन्दी – सर्लाहीका २८ जना एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरिएको छ ।

सर्लाहीकै ईश्वरपुर नगरपालिका–३, भक्तिपुर निवासी मनोज आचार्यले जिल्लाभरका एम्बुलेन्स चालकलाई बुधबार पीपीई प्रदान गरेका हुन् । जिल्लाभर ४९ वटा एम्बुलेस सञ्चालन रहेको र ती मध्ये २८ जना चालकलाई पीपीई प्रदान गरिएको र केही दिनमै थप पीपीई जुटाएर बाँकी एम्बुलेन्स चालकलाई पनि प्रदान गर्ने दाता आचार्यले बताएका छन् ।

बिहान लालबन्दी नगरपालिका कार्यालयमा एम्बुलेन्स चालकहरुलाई पीपीई प्रदान गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले ज्वरो आएका लगायत बिरामीलाई उपचार गराउन अस्पताल लैजानका लागि एम्बुलेन्स चालकले सुरक्षा सामग्री नभएको गुनासो गर्दै आएका थिए । पीपीई पाएपछि चालकले सुरक्षित महसुस गरेको संयुक्त एम्बुलेन्स चालक संघ नेपाल सर्लाही शाखाका अध्यक्ष देवु लामाले बताए । ‘पीपीई नहुँदा एम्बुलेन्स चलाउने साथिहरु बिरामी ओसारपसार गर्न डराईरहनु भएको थियो’, लामाले भने, ‘अब सबै साथिहरुले निर्धक्कसँग बिरामी ओसार्नु हुन्छ ।’

शिरदेखि पाउँसम्म छोप्ने विशेष खालको लुगा, टोपी, चस्मा, एन–९५ मास्क, गमबुट, पञ्जा जस्ता सामग्रीलाई पीपीई भनिने स्वास्थ्यकर्मीले बताएका छन् ।

सरकारले भिड नगर्न भनेपनि पीपीई वितरण कार्यक्रममा भने उल्लेखनीय भिड देखिएको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सांसद्द्वय बेची लुंगेली र डिल्लीप्रसाद उप्रेती, सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकी, केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्ले, सचिव कमल बुढाथोकी, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा, बागमती नगरपालिकाका मेयर भरत थापा, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ, उद्योग वाणिज्य संघ लालबन्दी, चेम्बर अफ कमर्स लालबन्दी, नेपाल रेडक्रस सोसाईटी लालबन्दी लगायतका पदाधिकारी एवं प्रतिनिधिहरु, अन्य जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु गरी तीन दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रममा बिना मास्क नजिकै टाँस्सिएर फोटो खिचाउने होडबाजी देख्दा कोरोनाको कुनै त्रास नै छैन भनेजस्तो भान देखिन्थ्यो ।

राउत, उद्धार वा सहयोग कार्यक्रम गर्नु सह्रानीय भएपनि भिड नहुने गरी सरकारले तोकेको दुरी मेन्टेन गरेर मास्क अनिवार्य रुपमा लगाउँनु पर्नेमा ती सबै नियमहरुको धज्जी उडाउने प्रचलन बढ्दै गएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।