कोरोनाको आशंकामा टेकु पठाइएका सर्लाही बागमतीका चार जनाको रिपोर्ट नेगेटिभ

961

सर्लाहीको बाग्मतीमा कोरोना भाईरसको आशङ्का गरेर काठमाण्डौं पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । उच्च ज्वारो आएपछि नगरपालिकाको समन्वयमा परीक्षणका लागि टेकु अस्पताल काठमाण्डौं पठाइएका नगरपालिकाको वडा नं. १ र २ का चारै जनामा कोरोना नभएको पुष्टी भएको बाग्मती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानले जानकारी दिईन् ।

उनका अनुसार काठमाण्डौं पठाइएका चारै जना विदेशबाट फर्किएका नभई गाउँघरमै बस्ने मानिसहरु हुन् । अचानक धेरै ज्वारो आएपछि चारै जनालाई स्वाभिमान अस्पताल हरिवनसँग समन्वय गरी एम्बुलेन्समा काठमाण्डौं सम्म पठाइएको उपप्रमुख मोक्तानले बताईन् ।

यस्तै एक जना दीर्घरोगीलाई पनि उच्च ज्वारो आएपछि काठमाण्डौं पठाइएको थियो । उनमा पनि कारोना नभएको पुष्टी भएको नगर उपप्रमुख मोक्तानले बताईन् ।

यसैबीच बरहथवा नगरपालिका–१५ मा काठमाण्डौं र चितवनका विभिन्न इँटा उद्योगमा कार्यरत रही भर्खरै गाउँ आएकाहरुको सोमवार तापक्रम मापन गरिएको छ । काठमाण्डौंबाट आएका १५ जना र चितवनबाट आएका १९२ जना गरी दुई सय भन्दा बढी कामदार र उनीहरुका बालबच्चाको तापक्रम मापन गरी तत्कालका लागि सेल्फ क्वारेन्टाईनमा सुरक्षितसँग बस्न भनिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले जानकारी दिए ।