कोरोना त्रासले मधेशमा चैते छठको रौनक हरायो

195

मलंगवा – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले तराई मधेशमा यसवर्षको चैते छठ सुनसान बनेको छ ।

सरकारले लकडाउन गरेकाले छठका व्रतालुहरु घरमै पोखरी खनेर अहिले (सोमबार) साँझ अस्ताउँदो एवं भोली (मंगलबार) उदाउँदो सूर्यलाई अर्घ चढाउने तयारी गरिरहेका छन् । विगत वर्षहरुमा आसपास रहेका पोखरी, नदी जस्ता जलाशयमा सबै गाउँलेहरु जम्मा भएर हर्षोल्लासका साथ छठ मनाईने गरेपनि यसवर्ष भने कोरोना त्रास एवं सरकारी लकडाउनका कारण व्रतालुले घर घरमै छठ मनाउने तयारी गरेका हुुुन् ।

मलंगवाका दिपक यादवले यसवर्ष चैते छठ खल्लो भएको बताए । ‘यसवर्ष छठ खल्लो भएको छ’, उनले भने, ‘कोरोना भाईरसबाट बच्न र सरकारी लकडाउन मान्नका लागि व्रतालुहरु घर घरमै मनाउने भएका छन् ।’ गत वर्षहरुमा ध्वजा पताका, विजुली बत्तीका झल्लरहरुले सजाएर झकिझकाउ बनाईने अनि व्रतालु र स्थानीयको भरिभराउले हर्षोल्लासपूर्ण देखिने पोखरी, नदी जस्ता जलाशय यसवर्ष सुनसान बनेका छन् ।

चारदिन सम्म मनाइने छठ पर्व शनिवारदेखि सुरु भएको हो । आज (सोमवार) बेलुका जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै भोली (मंगलबार) उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ पर्व सकिन्छ । तराई मधेश क्षेत्रमा छठपर्वलाई अत्यन्त महत्वका साथ मनाईने छठ पर्व कात्तिक र चैतमा पर्दछ ।

श्रीमान्, छोराछोरी सहित परिवारका सदस्यहरुको सु–स्वास्थ्य दिर्घायुको कामना र छाला सम्बन्धि रोगहरु नलागोस् भन्ने कामनाका साथ छठ पर्व मनाईन्छ ।

फोटो क्याप्सन : आफ्नै घरमा खनिएको पोखरीमा अहिले साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाउदै सदरमुकाम मलंगवा स्थित एक व्रतालु । (तस्बिर : उज्यालो अभियान)