नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले लकडाउनपछि समस्यामा परेका मजदुर, किसान तथा अति विपन्न परिवारका लागि सहयोगमा जुट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तले आइतवार एक विज्ञप्ती प्रकासित गरी यो संकटको घडीमा समस्यामा परेकाहरुको उद्धार गर्ने काममा लागि पर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा नेता कार्यकर्तालाई निर्देश गरेका हुन् ।
पन्तले विज्ञप्ती मार्फत सके धेरैलाई, नसके व्यक्तिगत रुपमा एक परिवारको दरले भएपनि खाद्यान्न, औषधि, रुपियाँ वा अन्य आवश्यक सामग्री सहयोग गर्न आह्वान गरेका छन् । नेकपा सर्लाहीले यसअघि विज्ञप्ती निकालेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परे सदरमुकाम मलंगवास्थित पार्टी कार्यालय भवन स्थानीय प्रशासन वा सरकारलाई प्रदान गर्न तयार रहेको जानकारी गराएको थियो ।