हरिवनको सूर्तीविकास मैदानमा आजबाट तरकारी बजार लाग्दै

513
सूर्तीविकास मैदानमा तरकारी एवं फलफूल बजार सञ्चालनका लागि पसल बस्ने तथा ग्राहक उभिने घेरा बनाउँदै नगरपालिकाका कर्मचारीहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका स्थित सूर्तीविकास मैदानमा शनिबारबाट दैनिक तीन घण्टा तरकारी एवं फलफूल बजार लाग्ने भएको छ ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म तरकारी एवं फलफूल बजार लगाईने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले जानकारी दिए । तरकारी किन्न आउने सर्वसाधारणहरु एवं तरकारी व्यापारी बीच कम्तिमा दुई मिटरको दुरी फरक पर्ने गरी तरकारी बजार लगाउन लागिएको उनले बताए ।

हरिवन नगरपालिका कार्यालय पूर्वमा लाग्दै आएको तरकारी बजारमा स्थान अभावका कारण भिडभाड हुने देखिएकाले फराकिलो सूर्तीविकास मैदानमा बजार लगाउन लागिको नगरपालिका कार्यालयले जनाएको छ । त्यस्तै दिउँसो १२ बजेदेखि ३ बजेसम्म हरिवन बजार स्थित खाद्यान्न सामग्रीका पसलहरु पनि खोल्न दिईने मेयर प्रसाईंले जानकारी दिए । त्यस्ता पसलका सञ्चालकले ग्राहक उभिने घेरा बनाएर मात्र खाद्य सामग्री बिक्री गर्नुपर्ने छ ।

लकडाउनको पाँचौ दिनसम्म आईपुग्दा तरकारी लगायत खाद्य सामग्री अभावको गुनासो बढेकाले दैनिक ३ घण्टा त्यस्ता पसलहरु सञ्चालनमा ल्याउन लागिएको नगर प्रमुख प्रसाईंले जानकारी दिए । तरकारी बजार दैनिक सञ्चालन हुनेहुँदा तँछाडमछाड नगरीकन अत्यन्त संयमित र अनुशासित ढंगले किनबेच कार्य गर्न समेत मेयर प्रसाईंले आम सर्वसाधारण समक्ष आग्रह गरेका छन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गतेसम्म सरकारले लकडाउन घोषणा गरेयता हरिवनमा शनिबारबाट दैनिक ३ घण्टाको दरले तरकारी एवं फलफूल पसल र खाद्यान्न पसल खुलाउन लागिएको हो ।