हरिवनको तरकारी बजारमा भिड बढ्दा आधाघण्टा अघि नै बन्द गराईयो

597

हरिवन – सर्लाहीको हरिवन नगरपालिका स्थित सूर्तीविकास मैदानमा शनिबार मध्यान्ह लगाईएको तरकारी बजारमा अत्यधिक र अव्यवस्थित भिड बढेपछि आधाघण्टा अघि नै बजार बन्द गराईएको छ ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म तरकारी एवं फलफूल बजार लगाईने भनिएपनि भिड थेगिनसक्नु बन्दै गएपछि सुरक्षाकर्मीहरुले साँढे २ बजेदेखि नै व्यापारी र बजार गर्न आउने सर्वसाधारणलाई हटाएका हुन् । ‘सूरुको १ घण्टा जती व्यवस्थित नै भएपनि पछि भिड अत्यन्त बढ्यो’, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले भने, ‘भिड बढेर अव्यवस्थित बनेपछि साँढे २ बजे नै बजार उठाउन लगायौं ।’
बजारमा कतिपय सर्वसाधारण मास्क नै नलगाई आएका देखिन्थे । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले भोली (आईतबार) बाट तरकारी एवं फलफूल बजार लगाउने भन्दापनि अर्कै विकल्प खोजिने जानकारी दिए । लकडाउनको पाँचौ दिनसम्म आईपुग्दा तरकारी लगायत खाद्य सामग्री अभावको गुनासो बढेकाले दैनिक ३ घण्टा तरकारी एवं फलफूल बजार ता खाद्य सामग्री पसलहरु सञ्चालनमा ल्याउन लागिएपनि अनियन्त्रित भिड बढेकाले अब विकल्प खोजिने मेयर प्रसाईंको भनाई थियो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गतेसम्म सरकारले लकडाउन घोषणा गरेको छ ।

फोटो क्याप्सन : बजार सूरु हुने वितिकै सूर्तीविकास मैदानमा तरकारी किन्न लामबद्ध सर्वसाधारण । बजार सूरु भएको एकघण्टा पछि भने भिड अत्यन्त बढेको थियो । (तस्बिरहरु : अच्युतकुमार सापकोटा/उज्यालो अभियान)