पूर्व सांसद् नरेन्द्र साहद्वारा २० हजार थान मास्क र सेनिटाईजर सहयोग

1169

मलंगवा – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जिल्लाबासीलाई बचाउन सकियोस् भन्दै पूर्व सांसद् नरेन्द्र साहले २० हजार थान मास्क र ४८ थान सेनिटाईजर सहयोग गरेका छन् ।  
शुक्रबार दिउँसो जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई उक्त सामग्री हस्तान्तरण गरिएको साहले बताए । साहका प्रतिनिधि श्यामबाबु यादवले दिउँसो सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय परिसरमै पुगेर प्रजिअ जिसीलाई मास्क र सेनिटाईजर हस्तान्तरण गरेका छन् ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जिल्लाबासीलाई जोगाउनका लागि सानो भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यले जिल्ला विपद् व्यवस्थापन समितिलाई मास्क र सेनिटाईजर प्रदान गरिएको साहको भनाई छ । ‘जिल्लाबासीलाई कोरोना भाईरसको संक्रमणबाट जोगाउनका लागि विपद् व्यवस्थापन समिति सकृय रहेको छ’, काठमाडौंमा रहेका साहले टेलिफोनमा उज्यालो अभियानसँग भने, ‘सोही समिति मार्फत आवश्यकता अनुसार ती सामग्री लक्षित वर्गमा पुग्नेछ भन्ने विश्वास सहित सानो सहयोग गरेको हुँ ।’ केही दिनभित्रै थप मास्क र सेनिटाईजर लिएर आफै जिल्लामा आउने साहले बताए ।
पूर्व सांसद् साहबाट विपद् व्यवस्थापन समितिलाई २० हजार थान मास्क र ४८ थान सेनिटाईजर प्राप्त भएको प्रजिअ जिसीले जानकारी दिए । ‘आज दिउँसो जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्व सांसदज्यूको तर्फबाट मास्क र सेनिटाईजर सहयोग प्राप्त भएको छ’, प्रजिअ जिसीले शुक्रबार भने, ‘प्राप्त सामग्री केही दिनभित्रै आवश्यकता अनुसार कोरोना भाईरसको संक्रमण रोक्ने अभियान अन्तर्गत वितरण गरिने छ ।’
२०७० सालको संविधान सभा चुनावमा समानुपातिक सभासद् निर्वाचित साह २०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नं. ३ मा संघीय सांसद्को रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए । सर्लाहीकै हिरापुर निवासी साहले पराजित भएपनि विभिन्न पूर्वाधार विकास एवं जनचेतनामूलक ढंगका रचनात्मक सहयोग गर्दै आएका छन् । साहले यसअघि आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हरिवन, बरहथवा लगायत बजारहरुमा सीसीटिभी, निर्वाचन क्षेत्र भरी फोहोर संकलन गर्ने आधुनिक डस्टविन, सुरक्षाकर्मीलाई साईरन युक्त साईकल लगायत सहयोग गरिसकेका छन् । त्यस्तै साहले आफु निर्वाचनमा उठेको क्षेत्र नम्बर ३ भरी विभिन्न ठाउँमा खानेपानी सुविधाका लागि डिप ट्युबवेल जडानको लागि समेत काम सूरु गरिसकेका छन् । विजयी हुने वितिकै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण एवं मतदातालाई चटक्कै विर्सने परिपाटी तोड्दै पूर्व सांसद् साहले भने पराजित हुँदा समेत जिल्ला सहित आफ्नो निर्वाचन क्षेत्रमा व्यक्तिगत रुपमा निरन्तर विकास निर्माण सहित सहयोग पुर्याउँदै आएका छन् ।