दुई देशको कडा ‘लकडाउन’ ताेड्दै लागूऔषध सेवनकर्ता

लागूऔषध सहित विहिबार पक्राउ परेका महतो ।

मलंगवा – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि नेपाल र भारत दुवैतिर लकडाउन भएपनि लागूऔषध सेवनकर्ता भने लुकिछिपी प्रतिबन्धित औषधी लिन आउनेजाने गरेको देखिएको छ ।

नेपालले गत चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि तथा भारतले बुधबार राती १२ बजेदेखि लकडाउन घोषणा गरेको थियो । लकडाउनका कारण बाहिर फेर घुम्न दुवै देशमा निकै कडाई गरिएको छ ।

तथापी नेपालतर्फका लागूऔषध सेवनकर्ता भारतीय बजारमा पुगेर त्यस्ता प्रतिबन्धित औषधी खरिद गरेर फर्किने गरेको देखिएको छ ।  सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलले विहिबार दिउँसो भारतको सोनवर्षा बजारबाट लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी लिएर नेपालतर्फ आउँदै गरेका एक युवालाई पक्राउ गरेको छ । सर्लाहीको कविलासी नगरपालिका–७, सिरसिया गाउँका लालबाबु महतोलाई सय एमएलको कोझोम एलसीडी नामक १२ बोतल लागूऔषध सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय सिमा क्षेत्र स्थित नेपालतर्फको मलंगवा नगपरपालिका स्थित धानखेतको बाटो हुँदै लुकेर आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । धानखेतको आलीमा लगाईएको रहरीको बोटहरुले छेलिएर नेपालतर्फ आईरहेको अवस्थामा महतोको साथबाट उक्त लागूऔषध बरामद भएको हो ।

त्यस्तै दुई दिनअघि पनि एक युवालाई सिरिञ्ज (सुई) मार्फत प्रयोग हुने लागूऔषध सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले दुवै युवालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाईएको जानकारी दिए ।

नाका बाहेक धेरैजसो क्षेत्रफल धानखेत एवं उखुबारी पर्ने भएकाले पनि लागूऔषध सेवनकर्ताहरु लुकिछिपी भारतीय बजारसम्म पुगेर प्रतिबन्धित औषधी लिएर आउने गरेको देखिएको सप्रउ श्रेष्ठले बताए । ‘हाँमीले सकेसम्म सिमाक्षेत्रमा निकै कडाई गरेका छौं’, सप्रउ श्रेष्ठले भने, ‘एकदुईजना पक्राउ परेपनि थप कडाई सहित सिमाक्षेत्रमा निगरानी बढाएका छौं ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!