सर्लाहीमा फेला परे कोरोना संक्रमित युवती सवार विमानमा आएका दुई युवा, घर सिल गरेर होम क्वारेन्टाईनमा राखियो

3852

हरिवन – कोरोना भाईरस (कोभिड–१९) संक्रमित युवतीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका दुईजना युवा सर्लाहीमा फेला परेका छन् ।

फेला परेका दुवैजनालाई स्वास्थ्य परीक्षण पश्चात उनीहरुकै घरमा क्वारेन्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । कोरोना भाईरस संक्रमण देखिएकी ती युवती सवार ‘क्यूआर ६५२’ नामक विमानमा गत चैत ४ गते आएका कविलासी नगरपालिकाको पिपरिया र बलरा नगरपालिकाको अर्नाहका दुई युवालाई प्रशासनले बुधबार र बिहिबार सम्पर्क गर्दै आ–आफ्नो घरको सेल्फ क्वारेन्टाइनमा राखेको हो ।

पिपरियाका युवाको घरलाई बुधबार साँझबाट जिल्ला स्थित सुरक्षा निकायले ‘सिल’ गरेको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका एसपी दिलिप सिंह सहित सुरक्षा अधिकारी एवं स्वास्थ्यकर्मीको टोलीले बुधबार राती १० बजेसम्म युवक सहित घरपरिवारका सदस्यलाई स्वास्थ्य परीक्षण गरेको थियो ।

काठमााडैं झरेपछि ती युवा हरिवन स्थित आफ्नी श्रीमति र छोराछोरीलाई भाडामा राखेको कोठामा दुई दिन बसेको र सबैलाई लिएर हाल पिपरिया घरमा बसिरहेका छन् । उनले हरिवनमा कसैसँग नजिकबाट गफगाफ नगरेको बताएको सुरक्षा स्रोतले जनाएको छ ।

‘त्यस्तै सोही जहाजमा आएका बलरा नगरपालिका अन्तर्गत भारतीय सिमावर्ती गाउँ अर्नाहाका एक युवालाई समेत स्थानीय प्रशासनले उनकै घरमा क्वारेन्टाईनमा राखेको छ । विहिबार बिहान प्रजिअ जिसी नेतृत्वको सुरक्षा अधिकारी एवं स्वास्थ्यकर्मीहरुको टोली एवं नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले युवाको स्वास्थ्य अवस्था सहित घर परिवारको अवस्था निरीक्षण गरेका थिए ।

‘अहिलेसम्म दुवै युवकका घरमा रहेका परिवारक सबै सदस्यहरुको स्वास्थ्य अवस्था सामान्य देखिएको छ’, प्रजिअ जिसीले भने, ‘हाल दुवै घरलाई पूर्ण रुपमा लकडाउन गर्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई २४ सै घण्टा निगरानीमा खटाईएको छ ।’ माथिल्लो निकायमा कुरा गर्दा १४ दिनसम्म बाटो हेर्नु र कुनै समस्या देखिए मात्र काठमाडौं पठाउनु भन्ने निर्देशन आएको प्रजिअ जिसीले जानकारी दिए । नगरपालिकाको समन्वयमा स्थानीय गाउँलेहरुको पनि ज्वरो परीक्षण लगायतका लागि स्वास्थ्यकर्मी खटिएको उनले जानकारी दिए ।

६५२ नम्बरको उक्त प्लेनबाट सर्लाही ठेगाना भएका चारजना भएपनि दुईजना भने काठमाडौंमै बसिरहेका प्रजिअ जिसीले जानकारी दिए । ‘दुईजनाको सर्लाही सिसौट ठेगाना भएपनि उहाँहरु पहिला नै काठमाडौं बसाईं सरिसक्नु भएको रहेछ’, प्रजिअ जिसीले भने ।

जिल्लाको लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा एकै परिवारका चारजना गत चैत ४ गते संक्रमित युवती चढेकै कतार एयरवेजको विमानबाट आएको भन्ने कतिपय अनलाईन र सामाजिक संजालमा निराधार समाचार एवं हल्ला भएको थियो । तर ती चारजना नै अर्कै प्लेनबाट आएको पुष्टि भईसकेको छ ।