हरिवन नगरपालिकाले १४ बेडको क्वारेन्टाईन बनाउदै

954
स्वास्थ्यकर्मीले लगाउने पीपीई प्रदान गर्दै मेयर प्रसाईं । (तस्बिर : उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका लागि हरिवन नगरपालिका कार्यालयले १४ बेडको क्वारेन्टाईन बनाउन सूरु गरेको छ ।

हरिवन नगरपालिका–११, बाँसाटोल स्थित निर्माणाधिन आफ्नै कार्यालय भवनमा क्वारेन्टाईन बनाउन लागिएको मेयर गणेश प्रसाईंले जानकारी दिए । हरिवन स्थित नमूना अस्पतालले ५ वटा, हरिवन पोलिक्लिनिकले एउटा तथा नगरपालिका भित्रका स्वास्थ्य चौकीबाट गरी जम्मा १४ वटा बेड संकलन गरेर नगरपालिका कार्यालयले क्वारेन्टाईन बनाउन लागेको हो । भारत वा तेस्रो मुलुकबाट आएका शंकाष्पद व्यक्तिलाई क्वारेन्टाईनमा राखिने मेयर प्रसाईंले जानकारी दिए ।

बुधबार नगरपालिका कार्यालयमा बसेको मेयर प्रसाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निरौला सहित नगरपालिकाको स्वास्थ्य शाखाका सरकारी एवं निजी स्वास्थ्यकर्मीहरुको बैठकले कोरोना संक्रमणबाट बच्नका लागि अपनाउनु पर्ने उपाय एवं स्वास्थ्यकर्मीहरुको भूमिका बारेमा पनि विभिन्न निर्णयहरु गरेको छ । सोही अवसरमा मेयर प्रसाईंले नगर क्षेत्र भित्र हरिवन, लखन्देही, अत्रौली र घुर्कौली स्वास्थ्यचौकी एवं नमूना, हरिवन पोलिक्लिनिक र स्वाभिमान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि सुरक्षार्थ प्लाष्टिकको लगाउने सामग्री प्रदान गरेका छन् । स्वास्थ्यकर्मीहरुलाई टाउको देखि तल खुट्टासम्म ढाक्ने प्लाष्टिकको पीपीई प्रदान गरिएको हो । हरिवन स्थित स्वाभिमान अस्पतालले दुई दिनअघि नै ५ बेडको क्वारेन्टाईन स्थापना गरिसकेको छ ।

त्यस्तै हरिवन नगरपालिका भित्र कुनै समस्या देखिए वा कोरोना संक्रमितको शंका लागेमा वा उपचार व्यवस्थाका लागि भन्नु परेमा हरिवन नगरपालिकाको निःशुल्क हटलाईन नम्बर १६६०४६५२२२२ मा फोन गर्न समेत आम सर्वसाधारणहरुमा आग्रह गरिएको छ ।