सर्लाही रानिगञ्जका चारजना कोरोना संक्रमित युवती आएको विमानमा सवार नरहेको पुष्टी

लालबन्दी नगरपालिकाले ७ बेडको क्वारेन्टाइन स्थापना गरेको पथ्थरकोट स्थित स्वास्थ्यचौकी भवन । (तस्बिर : उज्यालो अभियान)

कोेरोना भाईरस (कोभिड–१९) संक्रमण भेटिएकी युवती सवार कतार एयरवेजको विमानमा सर्लाहीका कोही पनि सवार नरहेको पुष्टी भएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा एकै परिवारका चारजना गत चैत ४ गते कतार एयरवेजको विमानमा आएको जानकारी प्राप्त भएपछि प्रहरी र नगरपालिकाले अनुसन्धान गरेको थियो । तर अनुसन्धानका क्रममा ती चारै जना युवती सवार विमानमा नभई अरु नै विमानमा आएको पाइएको लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए । बेग्लै विमानमा आएको भएपनि उनीहरु चारै जनालाई घरमै सुरक्षितसँग बस्न आग्रह गरिएको स्वास्थ्य शाखा सहसंयोजक खतिवडाले बताए ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना संक्रमित युवती ६५२ नम्बरको प्लेनमा आएको तथा रानीगंजका चार जना भने ६५० नम्बरको प्लेनमा आएको जानकारी दिए । ‘हाँमी त राती रानीगंज गाउँ नै सिल गर्ने हिसाबले पुगेका थियौं’, प्रजिअ जिसीले भने, ‘तर उनीहरुको प्लेन टिकट सहित सम्पूर्ण कागजात हेर्दा र सबैतिरबाट बुझ्दा कोरोना संक्रमित युवती आएको प्लेन अर्कै भएको निश्चित भएपछि चारैजनालाई सुरक्षित रुपमा सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेर फर्किएका छौं ।’

लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले उक्त गाउँका सबैलाई ज्वरो नाप्न थर्मोमिटर वितरण गरिएको तथा ती चार जनामा ज्वरो लगायत कुनै लक्षण नदेखिएको जानकारी दिए ।