
हरिवन – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले मंगलबार बिहानबाट गरेको लकडाउनका कारण सर्लाहीका बजार क्षेत्र पनि सुनसान बनेका छन् ।
लकडाउन पश्चात सदरमुकाम मलंगवा सहित हरिवन, लालबन्दी, बरहथवा, नवलपुर, ईश्वरपुर जस्ता ठूला व्यापारिक केन्द्रहरु सुनसान छन् । औषधी पसल, ग्याँस, दुध लगायत अत्यावश्यक बाहेकका सबै पसलहरु, सरकारी कार्यालय एवं अत्यावश्यक सामान बोकेका बाहेक यातायातका सम्पूर्ण साधन बन्द भएका छन् । बिहान केही समय पसल खोल्ने एवं सर्वसाधारणको बढी चहलपहल देखिएपनि दिउँसोबाट भने बजारहरु पूर्ण रुपमा सुनसान भएको छ ।
सर्लाहीका कतिपय बजारमा भने छिटफुट रुपमा मोटरसाईकल चलेको देखिन्छ । लकडाउनको अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले सम्झाउने काम गरिरहेका छन् । पैदलयात्रीहरु हिडिरहेका देखिन्छन् । सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान गरेको छ ।

हरिवन सहित नगरपालिका एवं गाउँपालिकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान सहित बजार एवं गाउँगाउँमा माईकिङ गराईरहेका छन् । बिहानीपख सदरमुकाम मलंगवा, लालबन्दी सहित बजारहरु पुरै खुलेको भएपनि सुरक्षाकर्मीले सम्झाउने तथा माईकिङ गरेर बन्द गराएका थिए ।

जिल्लाभरका सबै बजार बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘जिल्ला स्थित सबै बजारहरु बन्द छन्’, जिसीले भने, ‘सुरक्षा निकायका प्रमुख सहित हाँमीले बिहानभर मलंगवा बजारमा अनुगमनका साथै स्थानीय बासिन्दा एवं व्यवसायीलाई सम्झाई बुझाई गरेका थियौं ।’

सोमबार साँझ सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजे बाट १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको थियो ।