स्वास्थ्य संस्थाबाहेक सर्लाहीका सबै कार्यालयबाट सेवा बन्द

385
आईतबार बन्द रहेको मालपोत कार्यालय हरिवन । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणबाट बँच्न र बँचाउन सर्लाहीका सबै सरकारी कार्यालयबाट सेवा बन्द गरिएको छ ।

चैत २१ गतेसम्मका लागि स्वास्थ्य संस्था बाहेक जिल्लाका गाउँपालिका तथा नगरपालिका सहित सम्पूर्ण सरकारी कार्यालयबाट सेवा बन्द गरिएका हो । संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको स्थानीय तहहरुले जनाएका छन् । धमाधम सूचना निकालेर स्थानीय तहहरुले स्वास्थ्य संस्थाबाहेक वडा तथा नगरपालिका र आफ्नो मातहतमा रहेका अन्य कार्यालय बन्द गरेको सूचना सार्वजनिक गरिरहेका छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि आइतवार सूचना निकालेर स्थानीय तहसँगै अन्य सरकारी कार्यालय तथा संघसंस्था पनि चैत २१ गतेसम्मका लागि बन्द गरिएको सूचना निकालेको छ । गृह मन्त्रालयले अत्यावश्यक बाहेक मानिसको भीडभाड हुने सबै कार्यालय तत्कालका लागि बन्द गर्न पत्राचार गरेपछि जिल्लाभरका सबै कार्यालयहरु बन्द गर्न भनिएको प्रशासनले जनाएको हो । कर्मचारीहरु भने कार्यालयमा आएर अनिवार्य बस्नुपर्ने तर सेवा भने प्रदान नगरिने प्रजिअ जिसीले जानकारी दिए ।

यसैबीच सर्लाहीमा भारतसँग सीमा जोडिएका अधिकांश सीमा नाका आजबाट बन्द गरिएका छन् । सदरमुकाम मलंगवासँगको सोनवर्षा र पश्चिमी भेगको बलरा नाका बाहेक अरु सबै १३ वटै नाका आइतवार बिहानदेखि बन्द गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) मोहनबहादुर जिसीले जानकारी दिए । खुल्ला रहेका दुईमध्ये सोनवर्षा नाकामा नेपाल–भारत दुवै तर्फबाट संयुक्त रुपमा हेल्थ डेक्स राखेर सीमा वारपार गर्नेहरुको स्वास्थ्य परीक्षण भइरहेको छ ।

बन्द गरिएका सीमा नाकाबाट मानिसको आवातजावत हुन नदिन सुरक्षाकर्मी तैनाथ गरी निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । यस्तै प्रदेश २ का अन्य जिल्लाका सीमा नाका पनि सिमित गरी केही नाका मात्रै खुल्ला गरिएका छन् ।