सुनसान बन्यो सर्लाहीको मुख्य भारतीय नाका

1523
सोमबार बिहानैदेखि सुनसान भारतीय सिमा स्थित मुख्य मलंगवा नाका । (तस्बिर : उज्यालो अभियान)
मलंगवा नाकामा सुरक्षार्थ राखिएको गोरखकाली सिमा प्रहरी चौकी । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सर्लाही स्थित भारतसँग जोडिएका सिमा नाका ‘सिल’ गरिएको छ ।

भारतको सोनवर्षा तथा सितामाढी बजार गर्नका लागि दैनिक हजारौं सर्वसाधारण एवं सयौं सवारी साधन ओहोर दोहोर गर्ने मुख्य मलंगवा स्थित भारतीय सिमा नाका सोमबार बिहानदेखि सुनसान बनेको छ । अत्याबश्यक सामान ढुवानी बाहेक सम्पूर्ण चहलपहल, ओहोरदोहोरमा रोक लगाईएपनि ढुवानी समेत नभएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

आज सोमबार १० बजेबाट भारतीय सिमामा रहेका १५ वटै नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘भारतीय सिमा नाकाबाट अत्यावश्यक बाहेक यात्रु ओहोरदोहोर लगायत बन्द गरिएको छ’, प्रउ पोखरेलले भने, ‘सात दिनसम्म नाका बन्द हुनेछ ।’

सर्लाही स्थित १५ वटा नाका मध्ये हिजो आईतबार देखि स्थानीय प्रशासनले दुईवटा नाकाबाट मात्र आवतजावत गर्न दिएको थियो । सदरमुकाम स्थित मलंगवा तथा पश्चिमी बलरा नगरपालिका स्थित लक्ष्मिपुर नाका खुलाईएको थियो । सोमबारबाट भने ती दुई नाकाबाट समेत यात्रु लगायत सर्वसाधारणको आवतजावत बन्द गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।