लालबन्दीमा आजबाट हाटबजार नलाग्ने

342

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाले आज (सोमवार) बाट हाटबजार नलगाउने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) बाट बच्न भन्दै नगरपालिकाले लालबन्दी बजारमा सोमवार र बिहिवार तथा नवलपुर बजारमा मंगलवार र शुक्रवार लाग्ने भित्री हाटबजार अर्को सूचना नहुञ्जेल सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकामा आइतवार बसेको आपतकालिन बैठकले मानिसको भीडभाड कम गर्न हाटबजार तत्कालका लागि बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता एवं लालबन्दी नगरपालिका–८, का वडाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बजार क्षेत्रका निजी सर्टरमा भने नियमित रुपमै व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यस्तै बैठकले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा २५ शैयाको आइसोलेसन वार्ड र लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित नवनिर्मित स्वास्थ्य चौकी भवनमा क्वारेन्टाईन तोकेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताए । बैठकले नगरपालिकामा कोरोना भित्रिन नदिन सबै पक्षसँग समन्वय गरी उच्च सतर्कता अपनाउने निर्णय गरेको लालबन्दी नगरपालिकाले जनाएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार देशवासीका नाममा सम्वोधन गर्दै अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने घोषणा गरे अनुसार आइतवारबाट नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरु मात्रै खुल्ला गरी नगरपालिका तथा वडा कार्यालयसँगै अन्य कार्यालयहरु फागुन २१ गतेसम्म बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले सूचना निकालेर जानकारी गराएका छन् ।