कोरोना कहर : सर्लाहीका होटल सुनसान

496
पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दीमा सञ्चालित होटल तथा गेष्ट हाउस । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – कोरोना भाईरस (कोभिड–१९) को त्रास बढ्दै जाँदा सर्लाहीका होटल तथा गेष्ट हाउस सुनसान देखिन थालेका छन् ।

प्रायः बाक्लै कार्यक्रम भइरहने र सेवाग्राही आउने जिल्लाका पूर्व–पश्चिम राजमार्ग क्षेत्र र सदरमुकाम मलंगवाका होटल अहिले सुनसान बनेका हुन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का कोषाध्यक्ष समेत रहेका नमस्ते होटल एण्ड गेष्ट हाउस लालबन्दीका सञ्चालक बैकुण्ठ सापकोटाले अहिले व्यवसाय ठप्प जस्तै रहेको जानकारी दिए । उनका अनुसार सेवाग्राही आउन छाडेपछि यहाँका व्यवसायीले एक÷दुई दिनमा होटल बन्द गर्ने तयारी गरेका छन् ।

नयाँ वर्ष नजिकिँदै गर्दा कोरोनाको संक्रमणले होटल नै बन्द गर्नुपर्ने अवस्था आएपछि जिल्लाका होटल व्यवसायी चिन्तित भएका छन् । सदरमुकाम मलंगवामा रहेको कुसुम पार्टी प्यालेसका सञ्चालक नागेन्द्रकुमार चौधरीले भारतमा कोरोनाको संक्रमण बढेपछि सदरमुकाम मलङ्गवाका अधिकांश होटल बन्द हुने अवस्थामा पुगेका बताए । मलंगवाका होटल तथा गेष्ट हाउस भारतीय सेवाग्राहीकै भरमा सञ्चालन भईरहेको छ । होटल तथा गेष्ट हाउसमा काम गर्ने कामदारहरुलाई धमाधम बिदा दिएर घर पठाउन थालिएको छ ।

सदरमुकाम मलंगवासहित पूर्व–पश्चिम राजमार्गमा पर्ने लालबन्दी, हरिवन र बाग्मती तथा जिल्लाको मुख्य व्यापारिक केन्द्र बरहथवा र बयलवासमा रहेका होटल तथा गेष्ट हाउसमा पनि कोरोनाको त्रास बढेपछि व्यवसाय प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् । यस्तै कोरोनाको त्रासले गर्दा अन्य व्यापार व्यवसायी पनि प्रभावित हुँदै गएका छन् ।