कोरोना कहर : गैससले दिन थाले सरकारी कार्यालयमा सेवा

166
मंगलबार जिल्ला प्रशासन कार्यालयको मूलगेटमा स्थापना गरिएको हेल्थ डेस्कमा तापक्रम नाप्दै प्रजिअ मोहनबहादुर जिसी तथा उपस्थित जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल लगायत सरकारी अधिकारी । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सरकारी कार्यालयसँग पर्याप्त जनशक्ति एवं श्रोत साधन नहुँदा स्वयं सरकारी कार्यालयमै गैर सरकारी संस्थाहरुले कोरोना भाइरस विरुद्धको सेवा दिन थालेका छन् ।

सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी एवं भूमिसुधार कार्यालय लगायतमा गैर सरकारी संस्थाहरुले कोरोना भाईरस (कोभिड–१९) संक्रमणविरुद्ध हेल्थ डेस्क संचालन गरेका हुन् । हरिवन स्थित बागमती सेवा समाज नेपालले गत मंगलबारबाटै जिल्ला प्रशासन कार्यालय मलंगवा परिसरमा कोरोना भाईरस विरुद्धको हेल्थ डेस्क संचालनमा ल्याएको छ । आफ्ना दुई जना स्वास्थ्यकर्मी खटाएर बागमतीले प्रशासन कार्यालय परिसरमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुको इन्फ्रारेटेड थर्मामिटरबाट तापक्रम नाप्ने र साबुन पानीले हात धुन एवं स्यानीटाईजर लगाउने गरेको बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए । शुक्रबारसम्म ७१४ जना सेवाग्राहीलाई थर्मामिटरले तापक्रम नाप्ने तथा विभिन्न सचेतनामूलक जानकारी गराउने काम भएको भण्डारीले बताए ।

त्यस्तै गत शुक्रबारबाट सदरमुकाम मलंगवा स्थित मालपोत, नापी र भूमिसुधार कार्यालयमा समेत हेल्थ डेस्क संचालनमा ल्याईएको छ । ती कार्यालयमा आउने सेवाग्राहीका लागि दिगो विकास तथा सामुदायिक विकास संस्थाले हेल्थ डेस्क संचालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । एकै ठाउँ रहेकाले तीनवटै कार्यालयमा छिर्ने एउटै मूलगेट बनाएर हेल्थ डेस्क संचालनमा ल्याईएको छ । उक्त संस्थाका स्वास्थ्यकर्मीले सेवाग्राहीको तापक्रम नाप्ने तथा सचेतनामूलक जानकारी गराउने गरेका छन् ।

प्रजिअ जिसीका अनुसार सरकारी निकायमा जनशक्ति अनि स्रोत साधन अभाव भएकाले गैर सरकारी संस्थाहरुसँग समन्वय गरेर विभिन्न सरकारी कार्यालयमा कोरोना भाईरस विरुद्ध हेल्थ डेस्कहरु संचालनमा ल्याईएको हो । ‘सरकारी स्वास्थ्यकर्मीहरु सबै स्थानीय तहको मातहतमा छन्, स्थानीय तह आफैले ठाउँ ठाउँमा स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु दिईरहेका छन्’, प्रजिअ जिसीले भने, ‘त्यसैले विभिन्न गैर सरकारी संस्थाहरुसँग समन्वय गरेर सदरमुकाम स्थित विभिन्न सरकारी कार्यालयमा हेल्थ डेस्क सञ्चालनमा ल्याईएको छ ।’

त्यस्तै ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि आईतबारबाट हेल्थ डेस्क सञ्चालनमा ल्याउनका लागि नेपाल रेडक्रस सोसाईटीसँग समन्वय भईरहेको प्रजिअ जिसीले जानकारी दिए । ‘बढी भिडभाड हुने कार्यालयमा क्रमशः हेल्थ डेस्क संचालनमा ल्याउनका लागि विभिन्न गैर सरकारी संस्थाहरुसँग समन्वय भईरहेको छ’, प्रजिअ जिसीले भने, ‘चाँडै नै सबै सरकारी कार्यालयमा हेल्थ डेस्क स्थापना गर्ने मेरो लक्ष्य छ ।’