हरिवनमा ट्रकको ठक्करबाट एकजना ठहरै

1479
सांकेतिक तस्बिर ।

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिकाको सुखेपोखरीमा ट्रकको ठक्करबाट अहिले भर्खर (शनिबार) एक वृद्धको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रकले हरिवन नगरपालिका–९, सुखेपोखरी पुल छेउमा ठक्कर दिँदा ५०/५५ वर्षका जस्ता लाग्ने एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक सूर्यनारायण यादवले जानकारी दिए । ठक्कर दिने ना. ६ ख ५६४५ नम्बरको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले मृतकको शव हरिवन स्थित नमूना अस्पतालमा राखिएको जानकारी दिए । प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म मृतकको सनाखत हुन सकेको छैन ।