कोरोना कहर : सतर्कता अझ बढाइयो, चैत १० देखि लामो दूरीका यातायात बन्द

187
शुक्रवार नापी कार्यालय मलंगवामा स्थापना गरिएको हेल्थ डेक्स । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा कोरोना भाईरस (कोभिड–१९) बाट बच्न सतर्कता अझ बढाउँदै लैजाने निर्णय भएको छ ।

शुक्रवार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा बसेको जिल्लाका उपलब्ध सरोकारवालाहरुको बैठकले सबै निकायबीच समन्वय गरी जिल्लामा कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो । धेरै भीडभाड हुने बजार क्षेत्रमा मानिसको उपस्थित कम गराउन खाद्यान्न, माछामासु, फलफूल, तरकारी लगायतका वस्तुको बेग्लाबेग्लै ठाउँमा बिक्रीको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय भएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिए ।

यस्तै सतर्कता अपनाउने क्रममा शुक्रवार सदरमुकाम मलंगवामा रहेको सेवाग्राहीको अत्यन्त भीडभाड हुने मालपोत र नापी कार्यालयमा हेल्थ डेक्स राखेर सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्य जाँच गर्न थालिएको छ । सदरमुकाम मलंगवा नगरपालिका आफैले मुसैली क्षेत्रमा क्वारेन्टाईन निर्माणको तयारी गरेको मलंगवाका मेयर निरसल साहले बताए ।

यसैबीच कोरोना भाईरस (कोभिड–१९) को त्रास बढिरहँदा सर्लाहीमा माक्स र स्यानिटाइजरको अभाव हुन थालेको छ । जिल्लाका लालबन्दी, नवलपुर, हरिवन, बयलवास, बरहथवा, मलंगवा जस्ता मुख्य बजारका औषधि पसलमा माक्स र स्यानिटाइजर नपाइएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् । कोरोनाबाट बच्न सतर्कता अपनाउँदै माक्स तथा स्यानिटाइजरको प्रयोग गर्न खोजे पनि बजारमा यि दुवैको अभाव भएको गुनासो आएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले यहाँ मात्रै नभई सबैतिर अहिले यस्ता सामग्रीको अभाव रहेको बताए । व्यवसायीले विभिन्न स्थानबाट माक्स तथा स्यानिटाइजर ल्याइ रहे पनि माग अत्यधिक रहेकाले पुर्याउन नसकिएको बताएका प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । कोरोनाबाट बच्न अहिले व्यक्ति स्वयंले तथा सरकारी तथा गैरसरकारी निकायबाट सतर्कता अपनाउने काम भइरहेको छ ।

मानिसको भीडभाड हुने कार्यालयहरुमा साबुन पानीले हात धूने व्यवस्था मिलाउनुका साथै कोरोनाबाट बच्ने उपायहरु समेटिएको बोर्ड राखेर सचेतना जगाउने काम भइरहेको हो । यस्तै भारतमा संक्रमण बढ्दै जाँदा जिल्लाका सीमा नाकाहरुमा भारतबाट आउनेहरुको नियमित तापक्रम मापन र अन्य स्वास्थ्य परीक्षणको काम भइरहेको छ ।

यस्तै सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’ यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई ‘लामो दूरी’ मानिन्छ । विभागका महानिर्देशक गोगनबहादुर हमाल भने, ’काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुन्न,२ सय ५० किलोमिटर भन्दा टाढालाई लामो दूरीलाई मानेका छौं ।’

यस्तै नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएकोप्रधानमन्त्री ओलीले जानकारी दिए । उनका अनुसार सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । सीमामा जाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले स्पष्ट पारे ।