सर्लाही ट्राफिकद्वारा सवारी साधनमा टाईमकार्ड लागू

843
यात्रुबसका चालकलाई फूलमाला लगाएर स्वागत गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक यादव तथा साथमा बागमती नगरपालिकाकी उपमेयर मोक्तान । (तस्बिर : उज्यालो अभियान)
चालकलाई साबुन पानीले हात धुन लगाईंदै । (तस्बिर : उज्यालो अयिभान)

बागमती – सर्लाही ट्राफिकले राजमार्गमा गुड्ने यात्रुबाहक सवारी साधनलाई टाईमकार्ड लागु गरेको छ । शुक्रबार बिहानबाट टाईमकार्ड सूरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

राजमार्गमा अत्यन्त तिब्र गतीमा सवारी साधान गुड्ने गरेका कारण दुर्घटना बढेकाले टाइमकार्ड सूरु गरिएको ट्राफिक प्रहरी निरीक्षक सूर्यनारायण यादवले जानकारी दिए । ‘प्रदेश ट्राफिक प्रहरी कार्यालयको आदेश अनुसार हाँमीले कर्मैया चेकपोष्टमा शुक्रबारबाट यात्रुबाहक सवारी साधनका लागि टाईमकार्ड सूरु गरेका छौं’, प्रहरी निरीक्षक यादवले उज्यालो अभियानसँग भने, ‘टाईमकार्डमा उल्लेखित समयको अधिनमा रहेर चालकले सवारी साधनल गुडाउनु पर्नेछ नत्र कानून बमोजिम कारबाही गर्नेछौं ।’

अन्य प्रदेशमा पहिला देखि नै भएपनि प्रदेश नम्बर दुईमा टाईमकार्ड सिस्टम नभएकाले शुक्रबारबाट विभिन्न ठाउँमा सूरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक सवारी साधनलाई सर्लाहीको कर्मैयाबाट ५२ किलोमिटर पश्चिम बाराको पथलैया पुग्न १ घण्टा १५ मिनेट तथा ५० किलोमिटर पूर्व धनुषाको लालगढलाई १ घण्टा १० मिनेट समयावधी तोकिएको छ ।

टाईमकार्ड लागू हुनु राम्रो भएको यात्रुबसहरुका चालकहरुले बताए । बढी यात्रु भित्र्याउन भन्दै राजमार्गमा सवारी साधन दौडाउनुपर्ने बाध्यतालाई टाईमकार्डले टार्ने चालकहरुको कथन छ । टाईमकार्ड लागू हुँदा दुर्घटनामा समेत कमि आउने यात्रु बसका चालक इन्द्र बहादुर वाईबाले विश्वस व्यक्त गरेका छन् ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाइकलले ५० किलोमिटर तथा टेम्पो, स्कूटर, पावरट्रेलर र ट्याक्टरले प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउनु पर्नेछ । बस, मिनिबस, ट्रक, मिनिट्रकलाई पहाडमा ५० किलोमिटर तथा समतल भूभागमा प्रतिघण्टा ७० किलोमिटर गती तोकिएको छ । बाक्लो बस्तीमा सबै सवारी साधनले ४० किलोमिटर प्रतिघण्टाको गतीमा चलाउनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

टाईमकार्ड उद्घाटनको अवसरमा सवारीसाधनका चालकलाई साबुनले हात धुनुपर्ने लगायत कोरोना भाईरस विरुद्ध सचेतना समेत गराईएको थियो । कर्मैया ट्राफिक चेकपोष्ट स्थित पूर्व–पश्चिम राजमार्गमै आयोजित उद्घाटन स्थलमा चालकहरुलाई फूलमाला लगाएर सम्मान गर्दै कोरोना भाईरस विरुद्ध एवं ट्राफिक नियमका बारेमा जानकारी समेत गराईएको थियो । चालकलाई साबुन पानीले हात धुन लगाएर मात्र कार्यक्रम स्थलमा प्रवेश गराईएको थियो । टाईमकार्ड उद्घाटनको अवसरमा बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सुर्यनारायण यादव लगायतले चालकलाई फुलमाला सहित स्वागत समेत गरेका थिए ।