यसवर्षका लागि ईन्दुशंकर चिनी उद्योग बन्द

214

हरिवन – हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ ।

उखु अभाव भएकाले बुधबार साँझबाट उखु क्रसिङ बन्द गरिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । ‘उखु अभाव भएपछि बुधबार साँझबाट यसवर्षका लागि उखु क्रसिङ बन्द भएको छ’, रजकले उज्यालो अभियानसँग भने, ‘यसवर्ष उखु थोरै भएकाले चाँडै उद्योग बन्द भएको छ ।’ ईन्दुशंकरले यसवर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल मात्र उखु क्रसिङ गरेको छ । गत वर्ष ईन्दुशंकरले ३५ लाख १३ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

यसवर्ष उखु खेती निकै घटेकाले क्रसिङ पनि निकै घटेको रजकले बताए । ‘कतिपय उद्योगले भुक्तानीमा निकै ढिलाई गर्ने र सरकारले दिने अनुदानमा समेत झण्डै डेढ वर्ष झुल्नु परेपछि किसानले गतवर्षबाट उखु खेतीको क्षेत्रफल निकै घटाएका छन्’, रजकले भने, ‘त्यसैको प्रभाव स्वरुप यसवर्ष हाम्रो उद्योगलाई पनि उखुको अभाव रह्यो ।’ पुस ११ गतेदखि सञ्चालनमा आएको उद्योगले ८३ दिन उखु क्रसिङ गरेको छ । तेस्रो पटक सूचना प्रकाशित गरेर उद्योग बन्द गरिएको र उद्योगले गरेको सर्भे अनुसार कोही किसानको पनि उखु बाँकी नरहेको रजकको दाबी थियो ।

त्यस्तै जिल्लाको दक्षिणी क्षेत्र गोडैता नगरपालिकाको बगदह स्थित महालक्ष्मी सुगर मिलले पनि केही समयअघि नै उखु क्रसिङ बन्द गरिसकेको छ । सो उद्योगले ६ लाख ८१ हजार क्वीन्टल उखु क्रसिङ गरेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र राय यादवले जानकारी दिए । गतवर्ष ११ लाख २७ हजार ३९५ क्वीन्टल उखु क्रसिङ महालक्ष्मीको पनि यसवर्ष झण्डै आधाले घटेको छ । महालक्ष्मीले पनि गतवर्षको किसानको भुक्तानी केही समयअघि मात्र सम्पन्न गरेको मेयर यादवले जानकारी दिए । यादवका अनुसार महालक्ष्मीले किसानको यसवर्षको पनि झण्डै ३५ प्रतिशत हाराहारी भुक्तानी सकेको छ ।

त्यस्तै दक्षिण पश्चिम क्षेत्र धनकौल स्थित अन्नपूर्ण सुगर मिल भने यसवर्ष संचालनमै आएन । अन्नपूर्णले ३–४ वर्षदेखि किसानलाई उखुको भुक्तानी दिन सकेको छैन । वर्षौंदेखिको भुक्तानी नदिएको भन्दै स्थानीय किसानले सो उद्योग यसवर्ष सञ्चालन नै हुन दिएनन् । त्यस क्षेत्रका किसानले उखु संकलन केन्द्र मार्फत यसवर्ष महोत्तरीको एभरेष्ट, हरिवनको ईन्दुशंकर लगायत चिनी उद्योगमा उखु दिएका थिए । सो उद्योगले गतवर्ष ९ लाख ७ हजार ६९२ क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

तीनवटा चिनी उद्योग भएको सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । गत विगत वर्षहरुमा २६ हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती हुने गरेपनि यसवर्ष भने २० हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती भएको अनुमान गरिएको छ ।