हरिपुरमा कार्यालय प्रमुखहरुको बैठक सम्पन्न, कोरोनाकै चर्चा

165

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको सभाहलमा बुधबार दिउँसो जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा सदरमुकाम मलंगवा लगायत जिल्लाभरका कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो । बैठकले कोरोना भाईरस विरुद्ध हेल्थ डेस्क स्थापना गर्न सबै कार्यालयले पहल गर्ने निर्णय गरेको प्रजिअ जिसीले जानकारी दिए । सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयमा कोरोना भाईरस विरुद्धको हेथ्ल डेस्क स्थापना गर्नका लागि पहल गर्ने, जनशक्ति एवं स्रोत साधन अभाव रहेकाले सरोकारवाला सरकारी तथा गैर सरकारी क्षेत्र लगायतसँग सहकार्य र समन्वय गर्ने निर्णय गरेको छ । त्यस्तै विहिबारदेखि हुन गईरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण र मर्यादित बनाउनका लागि सबै कार्यालयको तर्फबाट उचित सहयोग गर्ने निर्णय समेत भएको प्रजिअ जिसीले जानकारी दिए ।

हरेक महिनाको ५ गते नियमित बस्ने गरेको कार्यालय प्रमुखहरुको बैठक बुधबार हरिपुरमा राखिएको हो ।