विष्णु गाउँपालिकामा अझै टकराब

313
केही समयअघि वडाध्यक्षहरु विरुद्ध आयोजित पत्रकार सम्मेलनमा बोल्दै विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव र साथमा उपाध्यक्ष उषादेवि । (तस्बिर : उज्यालो अभियान)

सीमरा फेन्हरा – जनप्रतिनिधिबीच विवाद बढ्दा सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा विकासका काम प्रभावित भएका छन् ।

गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच लामो समयदेखि जारी द्वन्द्वले गाउँपालिकामा प्रभावकारी रुपमा विकास हुन नसकेको हो । केही समयअघि वडाध्यक्षहरुले संघीय राजधानी काठमाण्डौं पुगेर र गाउँपालिका अध्यक्षले गाउँपालिकामै बेग्लाबेग्लै पत्रकार सम्मेलन गरी एकले अर्कालाई आरोप–प्रत्यारोप गर्दा विवाद झन् चुलिएको स्थानीय वासिन्दाले बताएका छन् । योजना सञ्चालन, राजस्व संकलन र सेवा सुविधाका सम्वन्धमा वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच प्रमुख विवाद देखिएको छ ।

वडाध्यक्षहरुले गाउँपालिका अध्यक्षले मनोमानी किसिमले विभिन्न पदमा आफ्ना आसेपासे र आफन्तलाई नियुक्त गरेको र प्रधानमन्त्री रोजगार कार्यक्रमसहित अन्य योजनामा आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष जवाहारलाल यादवले भने राजस्व बढाएर मोटरसाइकल खरिद गरौँ र त्यसपछि अन्य सेवा सुविध विस्तार गर्दै जाऊँला भन्दा वडाध्यक्षहरुले अस्वीकार गरी आफूविरुद्ध अफवाह फैलाएका दावी गरेका छन् ।

विष्णु गाउँपालिकामा अहिले गाउँपालिका अध्यक्ष र विभिन्न वडाका वडाध्यक्षहरुबीच बोलचाल समेत छैन् । विष्णु गाउँपालिका–५, का वडाध्यक्ष श्यामबाबु रायले गाउँपालिका अध्यक्ष यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य योजनाको बजेटमा हिनामिना गरेको आरोप लगाए । उनीसहित पाँच जना वडाध्यक्षले केही समय अघि संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष यादवको मनोमानी र अनियमितता बढेको भन्दै कारवाहीको माग गरेका थिए ।

लगत्तै गाउँपालिका अध्यक्ष यादवले विष्णुँ गाउँपालिकास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूमाथि वडाध्यक्षहरुले लगाएको आरोप निराधार रहेको भन्दै आफूले कुनै पनि किसिमको अनियमिता नगरेको दावी गरेका थिए । कानुन अनुसार चलौँ र गाउँपालिकाको आन्तरिक स्रोत बलियो भएपछि मात्रै वडाध्यक्षहरुलाई मोटरसाइकल खरिद गर्नेदेखि अन्य सेवा सुविधा बढाउँला भन्दा वडाध्यक्षहरु आफ्नो विरुद्धमा उत्रिएर गाउँपालिका अध्यक्ष यादवले गुनासो गरे । यसरी वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच जारी मुटावले अघिल्लो आर्थिक वर्षमा सो गाउँपालिकामा धेरै योजना प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन् ।

यस वर्ष विवाद अझ बढेकाले वडा र गाउँपालिकाबीच समन्वयमा हुनुपर्ने काम प्रभावित भइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुबीच बोलचाल नै बन्द भइरहेको अवस्थामा विकास निर्माणका काम र आफूहरुले पाउनु पर्ने सेवा सुविधा प्रभावित भइरहेको सीमरा गाउँका एक स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।