कोरोना कहर : सीडीओ र एसपीको निधारमा पनि थर्मामिटर

422
मंगलबार जिल्ला प्रशासन कार्यालयको मूलगेटमा स्थापना गरिएको हेल्थ डेस्कमा तापक्रम नाप्दै प्रजिअ मोहनबहादुर जिसी तथा उपस्थित जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल लगायत सरकारी अधिकारी । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण परीक्षण गर्नका लागि जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत मंगलबारबाट स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याईएको छ ।

हेल्थ डेस्क स्थापनाको अवसरमा मंगलबार दिउँसो जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल लगायतको समेत ज्वरो नापिएको थियो । जिल्ला प्रशासन कार्यालय मलंगवाको मूलगेटमा इन्फ्रारेटेड थर्मामिटरको माध्यमद्वारा भित्र प्रवेश गर्ने जोसुकैको तापक्रम नाप्ने र ज्वरोका साथै रुघा खोकी, श्वासप्रश्वासमा कठिनाई जस्ता लक्षण देखिएमा तत्काल जिल्ला अस्पतालमा थप जाँचका लागि सिफारिस गरी पठाउने गरी मंगलबार दिउँसोबाट स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याईएको प्रजिअ जिसीले जानकारी दिए ।

बागमती सेवा समाज नेपाल हरिवनसँगको सहकार्यमा जिल्ला प्रशासन कार्याल परिसरमा कोरोना भाईरस विरुद्धको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको प्रजिअ जिसीले जानकारी दिए । ‘आजबाट बागमती सेवा समाज नेपालसँगको सहकार्यमा प्रशासन कार्यालय परिसरमा कोरोना भाईरस विरुद्ध परीक्षण कक्ष स्थापना गरिएको छ’, प्रजिअ जिसीले मंगलबार साँझ उज्यालो अभियानसँग भने, ‘केही दिनभित्रैै सेवाग्राहीहरुको बढी चाप हुने मालपोत, नापी, जिल्ला अदालत लगायत सरकारी कार्यालयहरुमा पनि यस्ताखाले परीक्षण कक्ष स्थापना गरिनेछ ।’ सरोकारवाला सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको समन्वय एवं सहकार्यमा बढी भिडभाड हुने सरकारी कार्यालयमा यस्ताखाले परीक्षण कक्ष सञ्चालनमा ल्याउने तयारी भईरहेको प्रजिअ जिसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा हाल दैनिक एकहजार बढी सेवाग्राही आवतजावत गर्दछन् । नेपाली नागरिकता प्रमाण पत्र, राहदानी बनाउने होस् वा मुद्धा मामला छिन्न, ठाडो उजुरी, गुनासो लगायत विषयमा प्रशासन कार्यालयमा सेवाग्राहीको घुुईंचो लाग्ने गर्दछ ।

मंगलबार दिउँसो स्थापना गरिएको कक्षमा सय जना भन्दा बढीको तापक्रम नापिएको छ । तर परीक्षण भएका कसैमा पनि तोकिएभन्दा बढी तापक्रम नभेटिएको प्रशासन कार्यालयले जनायो ।

जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीले हेल्थडेस्कको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्की, संस्थाका व्यवस्थापन प्रमुख गजेन्द्र साह लगायतले हेल्थडेस्क स्थापनाको उद्धेश्य, कोरोना भाईरसबाट बच्ने उपाय लगायत बारेमा चर्चा गरेका थिए । मंगलबार हेल्थडेस्कमा साबुन पानीले हात धुन सिकाउनुका साथै मास्क समेत वितरण गरिएको बागमती सेवा समाजले जनाएको छ ।

प्रजिअ जिसीको अगुवाईमा केही दिनअघि नै भारतीय सीमा क्षेत्रका ७ वटा नाकामा यस्ता कक्ष स्थापना गरिएको छ । मंगलबार पुनः थप ६ वटा नाकामा त्यस्तो कक्ष स्थापना गरिएको प्रजिअ जिसीले जानकारी दिए । मंगलबारसम्म जिल्लाको मुख्य नाका मलंगवा नगरपालिकाको मलंगवा र खुटौना, गोडैता नगरपालिकाको मधुवनी र बहादुरपुर, बलरा नगरपालिकाको लक्ष्मिपुर र छन्की नाकामा हेल्थडेस्क स्थापना भईसकेको छ । त्यस्तै पर्सा गाउँपालिकाको पर्सा, संग्रामपुर र नारायणपुर, विष्णु गाउँपालिकाको सिमरा, पकली र फेनरा तथा ब्रम्हपुरी गाउँपालिकाको त्रिभुवननगर नाकामा पनि डेस्क स्थापना गरिएको छ । जिल्ला अन्तर्गत भारतीय सिमा क्षेत्रमा १५ वटा नाका रहेकामा हाल १३ वटा नाकामा कक्ष संचालन भईसकेकाले बाँकी दुईवटा नाकामा पनि छिट्टै सञ्चालन गरिने प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

‘आजसम्म १३ वटा नाकामा कोरोना भाईरस विरुद्धको जाँच कक्ष स्थापना गरिसकेका छौं’, प्रजिअ जिसीले उज्यालो अभियानसँग भने, ‘बाँकी दुई नाकामा पनि चाँडै कक्ष स्थापना गर्ने तयारी भईरहेको छ । पर्याप्त जनशक्ति एवं स्रोत साधनको अभावले केही ढिलाई भएको र सरोकारवाला सरकारी एवं गैर सरकारी निकायसँगको समन्वय र सहकार्यमा धमाधम कोरोना भाईरस विरुद्धको परीक्षण कक्ष स्थापना गर्ने काम भईरहेको प्रजिअ जिसीले बताए । हालसम्म भारतीय सिमाक्षेत्रमा स्थापना गरिएका कक्षमा झण्डै ५ हजारजनाको परीक्षण गरिसकिएको र कसैमा पनि ज्वरो नदेखिएको प्रशासन कार्यालय स्रोतले जनाएको छ ।