सर्लाहीका १४ स्थानीय तहमा पूर्व माओवादी र ६ मा पूर्व एमालेले नेतृत्व गर्ने

490

हरिवन – सर्लाहीका २० स्थानीय तहमध्ये १४ वटामा पूर्व माओवादी केन्द्र र ६ वटामा पूर्व नेकपा एमालेले नेतृत्व गर्ने भएका छन् ।

पालिका स्तरमा पार्टी एकीकरण गर्ने क्रममा स्थानीय तह निर्वाचनमा प्राप्त जनमतको आधारमा एकीकरण गर्ने समझदारी जुटेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए । नेकपाको जिल्लामा रहेका ८ जना केन्द्रीय कमिटी सदस्य, जिल्ला अध्यक्ष र सचिवको उपस्थितिमा भएको छलफलबाट यस्तो किसिमको समझदारी जुटेको हो । जस अनुसार लालबन्दी, ईश्वरपुर, हरिपुर, हरिवन, मलंगवा र कविलासीमा पूर्व एमालेबाट अध्यक्ष चयन गरिने भएको छ ।

बाँकी १४ वटा स्थानीय तहमा पूर्व माओवादीबाट पालिका स्तरीय कमिटीको अध्यक्ष चुनिने जिल्ला अध्यक्ष पन्तले बताए । पूर्व एमालेको अध्यक्ष रहने ठाउँमा पूर्व माओवादीबाट सचिव र पूर्व माओवादीको अध्यक्ष हुने ठाउँमा पूर्व एमालेबाट सचिव चयन गरेर प्रदेश कमिटीमा सिफारिस गरिने नेकपा सर्लाहीले जनाएको छ । सर्वसम्मत हुन नसकेका पालिकाहरुबाट दावेदारहरुको नाम प्रदेशमा सिफारिस गर्ने र सहमति जुटेको स्थानमा भने जिल्लाबाटै अध्यक्ष र सचिवको टुंगो लगाउने समझदारी भएको नेकपा सर्लाहीका सचिव कमल वुढाथोकीले बताए ।

हरिवनमा ५ जनाको दाबेदारी

यसैबीच पूर्व एमालेको भागमा परेको हरिवन नगर कमिटीको अध्यक्ष को बन्ने ? भन्ने सम्वन्धमा सोमवार छलफल गरिएको छ । त्यसक्रममा एमालेका पूर्व नगर अध्यक्ष चुडामणि वाग्ले, पूर्व नगर संयोजक विदुरकुमार प्याकुरेल, हरिवन नै निवासी जिल्ला कमिटी सदस्य उत्तरकुमार मैनाली, रामहरि प्रसाई र रामप्रसाद घिमिरेले नेकपाको नगर अध्यक्षमा दावी गरेका छन् । नेकपाका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपाने, नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, प्रदेश कमिटी सदस्य राजकुमार उपे्रती र तारा पोखरेल एवं हरिवन भूगोल भएका जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा छलफल भएको हो ।

सबै स्थानीय तहमा पूर्व एमाले र माओवादीले आ–आफ्नो भागमा परेको अध्यक्ष र सचिव टुंग्याउँदै जाने र सहमति जुट्न नसकेको ठाउँबाट दावेदारी प्रस्तुत गरिएका नाम निर्णयका लागि प्रदेशमा सिफारिस गरिने नेकपा सर्लाहीले जनाएको छ ।