राजर्षि जनक कपको उपाधी नेपाल पुलिस क्लबले चुम्यो

275
प्रथम उपाधी सहित नेपाल पुलिसका खेलाडीहरु साथमा सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल । (तस्बिर : उज्यालो अभियान)
प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५१ हजार प्राप्त गरेका हरिवन निवासी पुलिसका कप्तान जुमानु राईलाई पुरस्कृत गर्दै नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमतीमा सम्पन्न चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिताको उपाधी विभागिय टिम नेपाल पुलिस क्लबले चुमेको छ । बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदानमा आईतबार भएको फाईनल खेलमा पुलिसले पाहुना टोली भारतको कंचनजंगा फूटबल क्बल सिक्किमलाई २–१ ले पराजित गरेको हो ।

जीतसँगै पुलिसले नगद १० लाख हात पारेको छ भने उपविजेतामा सिमित हुँदा सिक्किमले पाँच लाख मात्रैमा चित्त बझाउनु प¥यो । पोखरामा शनिबार सम्पन्न आहा रारा गोल्डकपको फाईनलमा पहिलो रोजाईका खेलाडी भएपनि मनाङ मस्र्याङदी युवा क्लबसँग पराजित हुँदै उपाधी चुम्न नसकेको अवस्थामा पूर्व राष्ट्रिय स्ट्राईकर जुमानु राई र पूर्व राष्ट्रिय डिफेण्डर रविन श्रेष्ठ बाहेक सम्पूर्ण दोस्रो रोजाईका खेलाडी सहित मैदान उत्रिएको पुलिसले भारतीय टीमलाई हराउँदै राजर्षि जनक कपको चौथो संस्करणको उपाधी चुमेको छ ।

खेलको दोस्रो मिनेटमै तिर्थ रानामगरले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । डिबक्स बाहिरबाटै लामाले गरेको सशक्त प्रहारले सिक्किमको जाली चुम्न पुग्यो । उत्तर दिशाको गोलपोष्टमा रहेका सिक्किमका गोलकिपर निगम सिंहलाई विपरित दिशामा लागेको चर्को घामको रापले लामाको प्रहार भेउ पाउनै गाह्रो पर्दा सहजै गोल भएको थियो ।

खेलको १२ औं मिनेटमा पुलिसका कप्तान जुमानु राईले अर्को गोल गर्दै खेललाई २–० मा पु¥याए । पदम भट्टराईले प्रहार गरेको फ्रि किक बललाई राईले हेड मार्फत सहजै सिक्किमको जाली चुमाएका हुन् ।

खेलको १९ मिनेटमा सिक्किमका अमिर लामाले गोल गर्दै आप््mनो टिमको आशा जगाएका थिए । डिबक्स भन्दा निकै परबाट लामाले सशक्त प्रहार गरेको बलले सहजै गोलकिपर सन्जित श्रेष्ठलाई विट गर्दै क्रसबारको देब्रे कुनाबाट पुलिसको जाली चुम्यो ।

खेललाई बराबरीमा ल्याउन सिक्किमका खेलाडीले पटक–पटक गोलपोष्ट आक्रमण गरेपनि पुलिसका गोलरक्षक बाधक बने । पटक पटकको आक्रमणमा खाता खोल्ने बाहेक अन्य कुनै गोल थप्न नसकेपछि अभागी सावित हुँदै सिक्किम उपविजेतामै सिमित बन्यो ।

चर्चित राष्ट्रिय खेलाडी विमल घर्ती मगर, बुद्ध चेमजोङ, सुनिल बल तथा दुई अफ्रिकन मुलका विदेशी खेलाडी सहितको आयोजक बागमती नगरपालिका टिम र जावलाखेल युथ क्लब ललितपुर जस्ता बलिया टिमलाई पराजित गर्दै फाईनलमा पुगेको सिक्किमका खेलाडी पुलिसका अधिकांश दोस्रो रोजाईका खेलाडीका अगाडी केही कमजोर देखिएका थिए ।

दुईदिन लगातार खेल्नु परेकाले फाईनलमा आप्mना टिमका खेलाडी थाकेका कारण हार व्यहोर्नु परेको सिक्किमका प्रशिक्षक दिनकर क्षेत्रीले बताए । ‘केटाहरुले सकेजति राम्रै खेले’, क्षेत्रीले भने, ‘हिजो र आज दुई दिन लगातार म्याच खेल्नु पर्दा केटाहरु थकित थिए अनि आज फस्ट हापमा हाम्रो गोलकिपरलाई घामले गर्दा विपक्षीबाट प्रहार भएको बल देख्न गाह्रो हुँदा पनि गोल खान पुग्यौंं ।’

नेपाल पुलिसका प्रशिक्षक सञ्जीव जोशीले खेलाडीहरुले निकै राम्रो खेलेका कारण उपाधी चुम्न पाएको प्रतिक्रिया दिए । ‘सिक्किम पनि अत्यन्त राम्रो टिम हो, तथापी हाम्रा केटाहरुले आज निकै राम्रो खेले, जसले गर्दा उपाधी भित्र्यायौं ।’

सिक्किमका सुब्रोतो सुरेनले फाईनल खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात पारे । सर्लाहीको हरिवन निवासी नेपाल पुलिसका कप्तान जुमानु राई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । राईले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा नगद ५१ हजार प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा सबैभन्दा बढी गोल पुलिसका तिर्थ राना मगरले गर्दै उत्कृष्ट गोल स्कोरर घोषित हुुँदै नगद २० हजार प्राप्त गरे भने पुलिसकै सन्जित श्रेष्ठलाई उत्कृष्ट गोलकिपरको उपाधी सहित नगद २० हजार प्रदान गरियो । उत्कृष्ट डिफेण्डर भने सिक्किमका कप्तान निवास राना घोषित भए भने वेष्ट मिडफिल्डरमा जावलाखेल युथ क्लबका रुपबहादुर लामा घोषित भए । राना र लामाले समान २०–२० हजार रुपैंया प्राप्त गरे ।

सर्लाही राईजिङ प्लेयर घोषित बागमती नगरपालिका टिमका कप्तान हरिवन निवासी विजय घलानलाई मोटरसाईकल प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

प्रतियोगितामा खेल्ने सर्लाही निवासी खेलाडीहरु मध्ये बागमती नगरपालिका टिम (रातो) बाट खेलेका हरिवन निवासी विजय घलानलाई ‘सर्लाही राईजिङ प्लेयर’ घोषित गर्दै एकथान पल्सर मोटरसाईकल प्रदान गरिएको छ । आयोजक बागमती युवा क्लबले राजर्षि जनक कपको प्रथम संस्करण देखि नै सर्लाही निवासी खेलाडीहरु मध्ये एकजनालाई उदियमान खेलाडीको रुपमा एक थान मोटरसाईकल दिँदै आएको छ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाद्वारा आयोजित प्रतियोगिता फागुन २२ गतेदेखि चलेको थियो । प्रतियोगितामा दुई भारतीय सहित १२ वटा टिम सहभागि थिए । भारतका कंचनजंगा युवा क्लब सिक्किम र युनाईटेड खर्साङ युवा क्लब दार्जीलिङ तथा मुलुक भित्रका नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब, जावलाखेल युथ क्लब ललितपुर, एनआरटी क्लब काठमाडौं, सुदूरपश्चिम–११, ब्वाईज युनियन क्लब काठमाडौ, क्षमादेवी प्लानिङ ब्वाईज पेप्सीकोला काठमाडौं, नव जनजागृति युवा क्लब सिमरा बारा, बागमती नगरपालिका टिम (रातो) तथा आयोजक बागमती युवा क्लब (निलो) सहभागि थिए ।

प्रतियोगिताका विजेता, उपविजेता टिम, विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मोक्तान, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज डाचाराज वाग्ले लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगिता सफल रुपले सम्पन्न भएको भन्दै आयोजक समितिका संयोजक दिपक लामाले खुशी प्रकट गरे । आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।