राजर्षि जनक कपमा दार्जीलिङलाई हराउँदै जावलाखेल सेमिफाईनलमा

150
विहिबारको खेलमा म्यान अफ दि म्याच घोषित लामा (रातो जर्सी)लाई पुरस्कृत गरिँदै । (तस्बिर : उज्यालो अभियान)
बल आफ्नो नियन्त्रणमा लिने प्रयासमा खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत विहिबारको खेलमा प्रभु जावलाखेल युथ क्लब जावलाखेलले भारतको युनाईटेड खर्साङ युवा क्लब दार्जीलिङलाई स्तब्ध पारेको छ । जावलाखेलले २(० गोलले पराजित गर्दै पाहुना टोली दार्जीलिङलाई स्तब्ध पारेको हो । जीतसँगै जावलाखेल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बागमती नगरपालिका(११ स्थित स्व. सन्तोष स्मृति मैदानमा भएको खेलको १३ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । दार्जीलिङका रक्षक प्रशान्त राईले आफ्नो डिबक्स नजिक अगाडी बढाईरहेको बल खोसेर लामाले गोल गरेका हुन् ।
६७ औं मिनेटमा पुनः जावलाखेलका अफ्रिकन मुलका विदेशी खेलाडी फोफोनाले दोस्रो गोल गरे । जावलाखेलका फरवार्ड सुजित बुढाथोकीको क्रसपासमा फोफोनाले डिबक्स भित्रबाट सशक्त प्रहार गर्दा दार्जीलिङको जाली चुमेको थियो ।
आफ्नै खेलाडीको गल्तीका कारण दार्जीलिङले पहिलो गोल खान पुग्यो । उक्त गोलपश्चात दार्जीलिङका खेलाडीहरुबीच खेल अवधीभर तालमेल नै मिल्न सकेन । जावलाखेलले दोस्रो गोल गरेपछि उसको अगाडी दार्जीलिङ निकै फिका देखिएको थियो । खेल अवधीभर जावलाखेल आक्रामक बन्दा दार्जीलिङका खेलाडी निरिह देखिन्थे ।
विहिबारको खेलमा जावलाखेलका रुपबहादुर लामाले म्यान अफ दि म्याच घोषित हुँदै ट्रफि सहित नगद १० हजार र एकजोर बुट प्राप्त गरेका छन् ।
जावलाखेलले अन्य धेरै गोलपोष्ट आक्रमण बुनेको थियो । ९ मिनेटमै जावलाखेलका फोफोनाले गरेको सुन्दर हेड बल दार्जीलिङको गोलपोष्टबाट नजिकबाट बाहिरियो । जावलाखेलकै सुजित बुढाथोकीले २३ औं मिनेटमा डिबक्स भित्रबाट गरेको सशक्त प्रहार दार्जीलिङका गोलकिपर राजा बर्मनले पंच गरेर बाहिर फालेका थिए । ७८ औं मिनेटमा अफ्रिकन खेलाडी ड्याडी जुनियरले गोलपोष्ट नजिकबाट गरेको प्रहार दार्जीलिङको क्रसबारमा लागेर बाहिरिएको थियो ।
खेलमा दार्जीलिङले समेत पटक(पटक गोलपोष्ट आक्रमण गरेपनि गोल गर्न सकेन । दार्जीलिङका करण राईले ३३ औं मिनेटमा प्रहार गरेको बल जावलाखेलको साईडबारमा लागेर बाहिरिँदा बराबरी गर्ने सुन्दर अवसर गुमेको थियो । ४७ र ५५ औं मिनेटमा सिद्धान्त क्षेत्रीले गरेको सशक्त प्रहारलाई जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले पंचीङ गर्दै विफल बनाए ।
फाईनल प्रवेशका लागि जावलाखेलले शनिबार भारतको कञ्चनजंघा फूटबल क्लब सिक्किमसँग भिड्नु पर्नेछ । आयोजक बागमती नगरपालिकाका वडाध्यक्ष एवं खेलकुद विभाग प्रमुख दिपक लामाका अनुसार शुक्रबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम–११ बीच पहिलो सेमिफाईनल खेल हुनेछ ।