परवानीपुरमा डेढ महिनादेखि एनसेल टावर अवरुद्ध

परवानीपुर – सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१६, परवानिपुरमा रहेको एनसेल टावर सूचारु नहुँदा स्थानीय वासिन्दा मारमा परेका छन् ।

गत माघ १२ गते राती परवानिपुरस्थित एनसेल टावरमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । विष्फोटबाट टावरका विभिन्न उपकरणमा क्षति पुगेका छन् । विष्फोटको घटना भएदेखि परवानिपुर क्षेत्रमा एनसेलको नेटवर्क अवरुद्ध भएको हो । डेढ महिनासम्म टावर सूचारु नगर्दा स्थानीयलाई बाहिर रहेका आफन्तसँग कुरा गर्न समस्या भइरहेको लालबन्दी नगरपालिका–१६, का वडाध्यक्ष गणेश थापाले जानकारी दिए । टावर सूचारु गर्न एनसेलका स्थानीय प्रतिनिधिमार्फत पटक–पटक ध्यानार्षण गराए पनि मर्मतको काम सुरु नगरिएको वडाध्यक्ष थापाले बताए । उनका अनुसार लालबन्दी नगरपालिकाको वडा नं. १५ र १६ परवानिपुरका अधिकांशले एनसेलको सीमकार्ड प्रयोग गर्दै आएका छन् । यसरी लामो समयसम्म टावर सूचारु नगर्दा सञ्चारविहिन हुनु परेको लालबन्दी नगरपालिका–१५, धूसेनीकी छोइसालमाया घलानले गुनासो गरिन् ।