उखुको अनुदान माग्दै चिनी उद्योगको ध्यानाकर्षण

272
इन्दुशंकर चिनी उद्योग हरिवनमा किसानले क्रसिङका लागि टायरगाढामा ल्याएका उखु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको इन्दुशंकर चिनी उद्योग हरिवनमा दुई वर्षअघि बिक्री गरेको उखुको अनुदान रकम नपाएको भन्दै रौतहट र बाराका उखु किसानले बिहिवार उद्योगमा आएर ध्यानाकर्षण गराएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा इन्दुशंकर चिनी उद्योगमा उखु बिक्री गरेका अन्य ठाउँका किसानले सरकारबाट पाउनु पर्ने अनुदान रकम पाइसके पनि रौतहटको चन्द्रपुर र फतुवा बिजयपुर तथा बाराको निजगढ नगरपालिकाका किसानले भने अनुदान रकम पाउन सकेका छैनन् । त्यहाँका उखु किसानले १ करोड ४३ लाख ७३ हजार ३३ रुपैयाँ १५ पैसा अनुदान रकम पाउन बाँकी छ । सरकारले उखु किसानलाई प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान रकम उपलब्ध गराउने सहमति गरेको थियो ।
उद्योगको तर्फबाट भुक्तानि गर्नुपर्ने सम्पूर्ण रकम यस अघि नै भुक्तानि गरे पनि सरकारले उपलब्ध गराउने अनुदान रकम भने मन्त्रालयबाटै प्राप्त नभएकाले किसानलाई प्रदान गर्न नसकिएको चिनी उद्योगले जनाएको छ । उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले रौतहट र बाराका तीन पालिकाका किसानको बाँकी रहेको अनुदान रकम दिलाउन मन्त्रालयमा पटक–पटक ताकेता र पत्राचार गर्दै आएको बताएका छन् । रोकिएको अनुदान रकम अब भने यथाशीघ्र उद्योगको खातामा आउने जानकारी पाएको र रकम आउना साथ किसानको खातामा पठाइने प्रशासकीय अधिकृत नेपालले जानकारी दिए ।