राजर्षि जनक कप फूटबलमा ब्वाईज युनियनलाई हराउँदै पुलिस सेमिफाईनलमा

142
म्यान अफ दि म्याच घोषित पदम भट्टराईलाई पुरस्कृत गरिँदै । (तस्बिर : उज्यालो अभियान)
खेलमा बल अगाडी बढाउँदै पुलिसका कप्तान जुमानु ।

बागमती – चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । ब्वाईज युनियन क्लब काठमाडौंमाथि ३–० गोलको सहज जीत हात पार्दै पुलिस प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सर्लाहीको बागमती स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदान जारी खेलको ४६ औं मिनेटमा तीर्थ राना मगरले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । पृथ्वी चौधरीले क्रसपास दिएको बललाई राना मगरले सशक्त प्रहार गर्दै ब्वाईज युनियनको जाली चुमाएका हुन् ।

खेलको ७८ औं मिनेटमा कर्नर बललाई पुलिसकै पदम भट्टराईले गोलमा परिणत गरे । राम वाजीले हानेको कर्नर बललाई भट्टराईले हेड मार्फत सुन्दर गोल गर्दा ब्वाईज युनियनको जाली चुम्यो । २–० ले अग्रता लिएपछि पुलिसका खेलाडी थप उत्साहित देखिन्थे ।

त्यस्तै खेलको ९० औं मिनेटमा विशाल बस्नेतले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो । ८७ औं मिनेटमा राम वाजीको स्थानमा मैदान छिरेका बस्नेतको गोलसँगै पुलिसको जीत सुनिश्चित भयो । ब्वाईज युनियनका गोलकिपर रोहित कार्की पुलिसका अर्का खेलाडीसँग बल खोस्न डिबक्स बाहिर गएको बेला फुत्किएको बललाई नियन्त्रणमा लिँदै बस्नेतले गोल गरेका हुन् । गोलपोष्टमा गोलकिपर नभएको अवसरलाई बस्नेतले डिबक्स बाहिरबाट सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।

खेल अवधीभर ब्वाईज युनियन माथि पुलिस हाबी देखिएको थियो । पुलिस आक्रामक बन्दा ब्वाईज युनियन रक्षात्मक बन्न बाध्य भएको थियो । पुलिसका खेलाडीले एकपछि अर्को गर्दै आधादर्जन गोलपोष्ट आक्रमण गरेका थिए । पुलिसको तुलनामा ब्वाईज युनियनको तर्फबाट भने गोलपोष्ट आक्रमण हुन सकेन । यद्यपी उसका खेलाडीले गरेका गोलपोष्ट आक्रमण गोलमा परिणत हुन नसक्दा ब्वाईज युनियन अभागी सावित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

२२ औं मिनेटमा पूर्णबहादुर गुरुङले पुलिसका गोलकिपर सञ्जित श्रेष्ठसँग वान भर्सेज वानको बललाई गोलमा परिणत गर्न सकेनन् । उक्त अवसर खेर जाँदा पहिला नै पुलिस विरुद्ध ब्वाईज युनियनले अग्रता लिने मौका गुमाएको थियो ।

त्यस्तै २५ औं मिनेटमा ब्वाईज युनियनका गुरुङले नै सशक्त प्रहार गरेको बलले पुलिसका गोलकिपर विट गरेपनि गोलपोष्ट भित्र रहेका पदम भट्टराईको छातीमा लागेर फर्किएको थियो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै पुलिसका पदम भट्टराईले ट्रफि सहित नगद १० हजार र एकजोर बुट प्राप्त गरे ।

सर्लाही निवासी पूर्व राष्ट्रिय खेलाडी जुमानु राईको नेतृत्वमा पूर्व राष्ट्रिय डिफेण्डर रविन श्रेष्ठ सहित पुलिसबाट अन्य खेलाडीहरु भने दोस्रो रोजाईका थिए । ब्वाईज युनियन भने राष्ट्रिय खेलाडी अभिषेक रिजाल तथा एकजना अफ्रिकन मुलका विदेशी खेलाडी सहित मैदानमा उत्रिएको थियो ।

पुलिसले फाईनल यात्राका लागि आगामी फागुन ३० गते शुक्रबार पहिलो सेमिफाईनल खेलमा सुदूरपश्चिम–११ को सामना गर्नु पर्नेछ ।
विहिबार युनाईटेड खर्साङ युवा क्लब दार्जीलिङ र जावलाखेल युथ क्लब ललितपुरबीच अन्तिम क्वाटरफाईनल खेल हुँदैछ ।