राजर्षि जनक कपमा आज दार्जीलिङ र जावलाखेल भिड्दै

176

बागमती – चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत आज (विहिबार) पाहुना टोली भारतको युनाईटेड खर्साङ युवा क्लब दार्जीलिङ र जावलाखेल युथ क्लब ललितपुर खेल हुँदैछ ।

दिउँसो साँढे ३ बजेबाट बागमती स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदानमा खेल सूरु हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबलाई हराएको जावलाखेल र क्षमादेवी प्लानिङ ब्वाईज पेप्सीकोला काठमाडौंलाई हराएको दार्जीलिङबीच हुने अन्तिम क्वाटरफाईनल खेलमा कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । विजेता टोली सेमिफाईनल प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाटै बाहिरिने छ ।

चैत २ गते फाईनल खेल हुने प्रतियोगिताको उपाधी विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्ने आयोजक बागमती नगरपालिकाका वडाध्यक्ष एवं खेलकुद विभाग प्रमुख दिपक लामाले जानकारी दिए । प्रतियोगितामा भारतको दुई सहित १२ टिमको सहभागिता रहेको थियो ।