४२५ जनाको निःशुल्क आँखा उपचार

139
ईश्वरपुरमा आयोजित निःशुल्क आँखा शिविरमा बिरामीको आँखा परीक्षण गर्दै चिकित्सक । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – सर्लाहीको ईश्वरपुरमा शनिवार सम्पन्न एक दिने निःशुल्क आँखा परीक्षण शिविरबाट ४२५ जना लाभान्वित भएका छन् ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान सर्लाहीले आयोजना गरेको शिविरमा ४२५ जनाको निःशुल्क आँखा उपचार गरिएको हो । तीमध्ये १६ जनामा मोतिया बिन्दु फेला परेको र उनीहरुलाई फागुन २९ गते ढल्केबरस्थित रोर्टरी क्लबमा लगेर शल्यक्र्रिया गर्ने व्यवस्था मिलाइएको हृदय रोग निवारण प्रतिष्ठान सर्लाहीका अध्यक्ष बाबुकाजी प्रधानले जानकारी दिए । उद्योग वाणिज्य संघ ईश्वरपुरको प्रायोजनामा ईश्वरपुर नगरपालिका–६, स्थित नारायण प्राथमिक विद्यालयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरको नगरप्रमुख मनोज देवकोटाले उद्घाटन गरेका थिए ।

यसैबीच लालबन्दी नगरपालिका–५, मा रहेको एभरेष्ट आवासिय विद्यालयमा शनिवार आयोजित स्वास्थ्य शिविरमा विद्यालयका ५ सय बढी अभिभावक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयमै अध्यनरत पूर्व विद्यार्थीहरु डा. अरुण गुप्ता, डा. आलोक कुमार कुशवाहा र डा. सन्दिप साहले अभिभावक र विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य शिविरको विद्यालयका संस्थापक गोपाल पंजियारले उद्घाटन गरेका थिए । शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको विद्यालयका शिक्षक राजु पंजियारले बताए ।