समूहमा भेला भएर होली नमनाउन प्रशासनको आग्रह, जबर्जस्ती गर्नेलाई कारबाही गरिने

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले समूहमा भेला भएर होली नमनाउन आग्रह गरेको छ ।

हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) प्रति लक्षित गरी प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले सूचना जारी गर्दै ठूलो संख्यामा जम्मा भएर होली नमनाउन आग्रह गरेका हुन् । यस्तै भोजभतेर, जात्रा तथा मेला महोत्सव आयोजना नगर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएकाले यसबाट बच्नका लागि सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी जिसीले जिल्लावासीसँग आग्रह गरेका छन् । उनले विचलित र हतास नभई संयमता, सावधानी र रक्षात्मक उपायहरु अपनाउन आग्रह गरे ।

इच्छा विपरीत जबरजस्ती कसैलाई पनि रंग दल्ने तथा लोला हान्ने काम नगर्न प्रशासनले सचेत गराएको छ । कसैमाथि जबर्जस्ती रंग लगाईदिने कार्य गरेमा कानूनी कारबाही गरिने समेत प्रजिअ जिसीले बताएका छन् ।