राजर्षि जनक कपमा नेपाल पुलिस विजयी

171
बल नियन्त्रणमा लिनका लागि प्रयास गर्दै नेपाल पुलिस क्लबका कप्तान जुमानु राई (सबैभन्दा अगाडी) लगायत खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले कठिन जीत निकालेको छ । नव जनजागृति युवा क्लब सिमरा बारालाई १–० गोलले पराजित गर्दै पुलिस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ ।

खेलको ८१ औं मिनेटमा पुलिसका जर्सी नं. १८ का राम वाजीले गरेको एकमात्र निर्णायक गोलबाट पुलिसले क्वाटरफाईनल यात्रा तय गर्याे । पुलिसका जर्सी नं. ६ का रविन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई वाजीले हेड मार्फत सुन्दर गोल गर्दै सिमराको जाली चुमाएका थिए ।

खेल अवधीभर उत्कृष्त प्रदर्शन गरेका एवं निर्णायक गोलका लागि बल मिलाईदिएका पुलिसका जर्सी नं. ६ का रविन श्रेष्ठलाई म्यान अफ दि म्याच घोषित गरियो । बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले श्रेष्ठलाई ट्रफि सहित नगद १० हजार एवं एकजोर बुट समेत प्रदान गरिन् ।

सर्लाहीको हरिवन निवासी राष्ट्रिय टोलीका चर्चित पूर्व खेलाडी जुमानु राईको कप्तानीमा मैदानमा उत्रिएको पुलिसले सिमरा विरुद्ध जित हाँसिल गर्न ठूलो रस्साकस्सी व्यहोर्न परेको थियो । पुलिसका दोस्रो रोजाईका खेलाडीहरु मैदानमा उत्रिएका कारण पनि उसलाई सहज जीत हात पार्न कठिन भएको थियो ।

पुलिसका खेलाडीले आधा दर्जन बढी गोलपोष्ट आक्रमण गरेपनि केही प्रहार सिमराका गोलकिपर सुवास बलले विफल तुल्याएका थिए भने केही प्रहार गोलपोष्टबाट बाहिर गएो थियो । सिमराका खेलाडीले भने खेल अवधीभर सम्झनलायक गोलपोष्ट आक्रमण नै गर्न सकेनन् । पुलिसको आक्रमक प्रस्तुतीका अगाडी सिमराका खेलाडी रक्षात्मक बन्न बाध्य भएका थिए ।

खेलको ६९ औं मिनेटमा पुलिसका कप्तान जुमानु राई घाईते भई मैदान बाहिरिँदा उनको ठाउँमा म्यान अफ दि म्याच घोषित पूर्व राष्ट्रिय खेलाडी श्रेष्ठले कप्तानी सम्हालेका थिए ।

सिमरालाई हराएको पुलिसले सेमिफाईनल यात्राका लागि आगामी फागुन २८ गते बुधबार यसअघि उद्घाटन खेलमा आयोजक बागमती युवा क्लबलाई हराएको ब्वाईज युनियन क्लब काठमाडौंको सामना गर्नेछ । आईतबार जावलाखेल युथ क्लब ललितपुर र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब काठमाडौं बीच खेल हुने आयोजक समितिका संयोजक दिपक लामाले जानकारी दिए ।