राजर्षि जनक कप फूटबलमा दार्जीलिङ विजयी

184
म्याद अफ दि म्याच घोषित दार्जीलिङका सिद्धान्त क्षेत्रीलाई पुरस्कृत गर्दै एन्फा सदस्य दावा लामा । (तस्बिर : उज्यालो अभियान)

बागमती – चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो दिनको खेलमा क्षमादेवी प्लानिङ ब्वाईज पेप्सीकोला काठमाडौंलाई ६–३ गोलले पराजित गर्दै युनाईटेड खार्साङ फूटबल क्लब दार्जीलिङ दोस्रो चरणमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदानमा भएको खेलमा दार्जीलिङले क्षमादेवी काठमाडौंलाई ३ गोलअन्तरले पराजित गरेको हो । खेलको ३७ औं मिनेटमा दार्जीलिङका जर्सी नं. ९ का सिद्धान्त क्षेत्रीले सानदार गोल गरेका थिए । उनी आफैले अगाडी बढाएको बललाई सशक्त प्रहार गर्दै क्षमादेवीको जाली चुमाए ।

त्यसैगरी मध्यान्तर हुनुअघि थप भएको ‘ईन्जुरी टाईम’मा क्षमादेवीका खेलाडीको तर्फबाट आत्मघाती गोल हुन पुग्यो । उक्त गोलसँगै खेलमा दार्जीलिङ २–० ले अगाडी बढ्यो । क्षमादेवीका जर्सी नं. ४ का सतिस सुवालको खुट्टामा लागेर आत्मघाती गोल भएको थियो । क्षमादेवीकै जर्सी नं. २० का फागुनन्द चौधरीले आफ्नो गोलपोष्ट नजिकबाट क्लियर गरेको बल सुवालको खुट्टामा लागेर आफ्नै गोलपोष्टको जाली चुम्न पुगेको थियो ।

खेलको ४९औं मिनेटमा जर्सी नं. १० का गणेश लिम्बुले गोल गर्दै दार्जीलिङलाई ३–० ले अग्रता दिलाए । कर्नर किक मार्फत दार्जीलिङका जर्सी नं. ४ का आशिष देवानले प्रहार गरेको बललाई लिम्बुले हेड मार्फत सुन्दर गोल गरेका हुन् । दार्जीलिङका जर्सी नं. १७ का प्रशान्त गुरुङले ५१ औं मिनेटमा अर्को गोल थप्दै क्षमादेवीलाई ४ गोलले पछि पारे ।

मध्यान्तर पछि भने क्षमादेवीका खेलाडीले एकपछि अर्को गोल गर्दै खेललाई बराबरीतर्फ ल्याउन मेहेनत गरेका थिए । ५७ औं मिनेटमा क्षमादेवीका जर्सी नं. ७ का आशिष श्रेष्ठले आफ्नो टिमको तर्फबाट पहिलो गोल गरे भने ५९ औं मिनेटमा जर्सी नं. २० का फागुनन्द चौधरीले अर्को गोल थप्दै खेललाई प्रतिष्पर्धात्मक बाटोमा हिँडाए । क्षमादेवीका जर्सी नं. ११ का सुरेश खत्रीले ६४ औं मिनेटमा पुनः गोल गर्दै खेललाई बराबरीको बाटोमा अगाडी डो¥याए ।

६८ औं मिनेटमा दार्जीलिङका जर्सी नं. १८ का शिव राउतले पुनः अर्को गोल थपेपछि मैदानमा फेरी दार्जीलिङ हाबी बन्यो । राउतको गोलले खेल ५–३ को अवस्थामा पुग्यो ।

८० औं मिनेटमा आफ्नो डिबक्स भित्र क्षमादेवीका खेलाडीले फल खेलेपछि दार्जीलिङले पेनाल्टी अवसर प्राप्त ग¥यो । प्राप्त पेनाल्टी अवसरलाई दार्जीलिङका कप्तान जर्सी नं. ८ का विरेन प्रधानले सहजै गोलमा परिणत गरे । प्रधानको गोलसँगै खेल ६–३ को अवस्थामा पुग्यो र उक्त गोलले जीत सुनिश्चित समेत ग¥यो । विपक्षीको डिबक्स भित्र बल अगाडी बढाईरहेका दार्जीलिङका जर्सी नं. १८ का शिव राउतलाई क्षमादेवीका खेलाडीले लगातार दुईपटकसम्म फल गरेर लडाएपछि फिफा रेफ्रि सुदिश पाण्डेले पेनाल्टी प्रहारको अवसर दिएका थिए ।

खेलको अन्तिम समय अर्थात ९० औं मिनेटमा दुवै टिमका एक–एकजना खेलाडीले रातो कार्ड खाए । दार्जीलिङका जर्सी नं. १४ का राज राउतलाई लडाएपछि क्षमादेवीका जर्सी नं. १६ का किरण बोहरा र राउतबीच वीवाद भई हात हालाहाल समेत भएकाले रेफ्रि पाण्डेले दुवैजनालाई रातोकार्ड देखाउँदै मैदान बाहिर पठाएका हुन् ।

अत्यन्त प्रतिष्पर्धात्मक खेल भएपनि गोलपोष्ट नजिक प्राप्त अवसरलाई क्षमादेवीका खेलाडीले गोलमा परिणत गर्न सकेनन् । जसकारण क्षमादेवीले दार्जीलिङसामु घुँडा टेक्न बाध्य भयो । दुवै टिमका खेलाडीले दर्जन बढी गोलपोष्ट आक्रमण गरेता पनि विपक्षीको जाली चुमाउने सवालमा दार्जीलिङका खेलाडी भाग्यमानी सावित भए ।

शुक्रबारको खेलमा दार्जीलिङका जर्सी नं. ९ का सिद्धान्त क्षेत्रीले म्यान अफ दि म्याच घोषित हुँदै ट्रफि सहित नगद १० हजार र एकजोर बुट समेत प्राप्त गरे । क्षेत्रीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फूटबल संघ (एन्फा) केन्द्रीय सदस्य दावा लामाले पुरस्कृत गरेका थिए ।

दोस्रो चरणमा प्रवेश गरेको दार्जीलिङको भेट आगामी फागुन २५ गते आईतबार हुने जावलाखेल युथ क्लब ललितपुर र सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंबीच हुने खेलको विजेतासँग आगामी फागुन २९ गते विहिबार सेमिफाईनल यात्राका लागि भिडन्त हुनेछ ।

फागुन २४ गते शनिबार भने नेपाल पुलिस क्लब काठमाडौं र नव जनजागृति युवा क्लब सिमरा बच खेल हुँदैछ । नेपाल पुलिस टिमको नेतृत्व भने सर्लाहीको हरिवन निवासी पूर्व राष्ट्रिय खेलाडी जुमानु राईले गर्ने आयोजक समितिका दिपक लामाले जानकारी दिए ।

‘प्रदेश नम्बर दुईको शान, राजा जनक प्रतिको सम्मान’ भन्ने नारा सहित सूरु गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख सहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछ । दुई विदेशी सहित १२ टिम सहभागि प्रतियोगिताको आगामी चैत २ गते फाईनल खेल हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।