राजर्षि जनक कप फूटबलमा भुटानको टिम नआउने

508

बागमती – बागमती नगरपालिका–११ स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शुक्रबार दिउँसोबाट प्रदेश नं. दुईकै सबैभन्दा ठूलो धनराशी पुरस्कारको चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा आयोजकले यसअघि दुई विदेशी क्लब सहित १२ वटा टिमले उपाधीका लागि प्रतिष्पर्धा गर्ने जानकारी गराएका थिए । तर अन्तिम समयमा भुटानको उर्गेन एकेडेमी प्रतियोगितामा सहभागि नहुने भएको छ । कोरोना भाईरसको प्रकोपका कारण भुटानले आप्mना खेलाडीलाई बाहिरी देशमा जान रोक लगाएपछि उर्गेन एकेडेमीले अन्तिम समयमा रद्ध गर्नु परेको आयोजक बागमती नगरपालिका–२ का वडाध्यक्ष एवं खेलकुद विभाग प्रमुख दिपक लामाले उज्यालो अभियानलाई जानकारी दिए ।

लामाका अनुसार उर्गेन एकेडेमीको स्थानमा भारतको दार्जीलिङ स्थित युनाईटेड फुटबल क्लब कुरसोङले सहभागिता जनाउने पक्का भएको छ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार २३ गते शुक्रबार प्लानिङ ब्वाईज काठमाडौं र उर्गेन एकेडेमी भुटान बिच खेल हुदैथियो । अब प्लानिङ ब्वाईजसँग युनाईटेड फुटबल क्लब कुरसोङ दार्जीलिङले खेल्ने छ ।

प्रतियोगितामा अब दार्जीलिङसँगै आयोजक बागमती युवा क्लब (निलो) र बागमती नगरपालिका (रातो), नव जनजागृति युवा क्लब सीमरा बारा, ब्वाईज युनियन क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, एपीएफ क्लब काठमाडौं, सुदूरपश्चिम–११, एनआरटी क्लब काठमाडौं, प्लानिङ ब्वाईज काठमाडौं, जाउला खेल यूथ क्लब ललितपुर र कंचनजंघा फूटबल क्लब सिक्किमले सहभागिता जनाउने छन् । चैत २ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले १० लाख रुपैंया र उपबिजेताले ५ लाख रुपैंया नगद पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपियाँ नगद प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।

आयोजकले जनाए अनुसार विहिबार फागुन २२ गते उद्घाटन खेल आयोजक बागमती युवा क्लब सर्लाही (निलो) र ब्वाईज युनियन क्लब काठमाडौं बिच हुदैछ । २३ गते शुक्रबार प्लानिङ ब्वाईज काठमाडौं र युनाईटेड फूटबल क्लब दार्जीलिङ तथा २४ गते शनिबार नव जनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लब काठमाडौं भिड्ने छन् । २५ गते आईतबार जावलाखेल युथ क्लब ललितपुर र एपीएफ क्लब काठमाडौं तथा २६ गते सोमबार सुदूरपश्चिम–११ र एनआरटी क्लब काठमाडौं बीच प्रतिष्पर्धा हुँदैछ । त्यसैगरी २७ गते मंगलबार आयोजक बागमती नगरपालिका सर्लाही (रातो) र कंचनजंघा युवा क्लब सिक्किम तथा २८ गते बुधबारदेखि प्रतियोगिताका विजयी टिमबीच भिडन्त हुनेछ ।

पूर्व उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको विशिष्ट आतिथ्यतामा विहिबार दिउँसो प्रतियोगिताको उद्घाटन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । दर्शकलाई उद्घाटनका दिन निःशुल्क प्रवेश गर्न दिईने र अन्य दिन भने १०० तथा सेमिफाईनल प्रतियोगितादेखि २०० रुपैंया टिकट काट्नु पर्ने आयोजकले जनाएका छन् ।