राजर्षि जनक कपको उद्घाटन खेलमा ब्वाईज युनियन विजयी

693
बल नियन्त्रणका लागि भिडदै खेलाडी । (तस्बिर : उज्यालो अभियान)
म्यान अफ दि म्याच घोषित ब्वाईज युनियनका सुशान्त लामालाई पुरस्कृत गर्दै बागमती नगरपालिकाका मेयर भरतकुमार थापा । (तस्बिर : उज्यालो अभियान)

बागमती – राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत सर्लाहीको बागमती स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आज (विहिबार) दिउँसो भएको उद्घाटन खेलमा ब्वाईज युनियन क्लब काठमाडौं विजयी भएको छ ।

ब्वाईज युनियनले आयोजक बागमती युवा क्लब निलोलाई १–० गोलले पराजित गरेको हो । खेलको ६९औं मिनेटमा ब्वाईज युनियनका जर्सी नम्बर १० का सुशान्त लामाले डिबक्स भन्दा बाहिरबाट गरेको सशक्त प्रहारले सहजै बागमतीको गोलपोष्ट जाली चुम्यो । विपक्षी खेलाडीका आधा दर्जन सशक्त प्रहारहरु विफल बनाएका बागमतीका गोलकिपर कुशल गिरीले ब्वाईज युनियनका लामाले प्रहार गरेको बललाई रोक्नै सकेनन् । अन्ततः सोही गोल नै जीतका लागि निर्णायक बन्यो ।

निर्णायक गोल सहित जीत दिलाएका ब्वाईज युनियनका लामा म्याद अ दि म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि एवं एकजोर बुट समेत पाएका छन् । बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले म्यान अफ दि म्याच घोषित लामालाई नगद, ट्रफि र बुट प्रदान गरे ।

खेल अवधीभर बागमतीको तर्फबाट सशक्त गोलपोष्ट प्रहार नै हुन सकेन । ईन्जुरी टाईममा बागमतीले कर्नर प्रहार पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीको अवसरबाट चुक्यो । खेल अवधीभर ब्वाईज युनियनका खेलाडी मैदानमा हाबी भएका थिए ।

अब ब्वाईज युनियनको भेट नव जनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबबिच हुने खेलको विजेता सँग आगामी फागुन २८ गते हुनेछ । भोली (शुक्रबार) भारतको दार्जीलिङ स्थित युनाईटेड फूटबल क्लब कुरसोङ र क्षमादेवि प्लानिङ ब्वाईज पेप्सीकोला काठमाडौं भिड्दै छन् ।

‘प्रदेश नम्बर दुईको शान, राजा जनक प्रतिको सम्मान’ भन्ने नारा सहित सूरु प्रतियोगिताको आगामी चैत २ गते फाईनल खेल हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । दुई विदेशी क्लब सहित १२ वटा टिम सहभागि प्रतियोगिताका विजेताले नगद १० लाख सहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछ ।

यसअघि विहिबार दिउँसो एक समारोहबीच पूर्व उपप्रधानमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता डा. नारायणकाजी श्रेष्ठले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको विशिष्ट आतिथ्यता रहेको थियो । नेकपा केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्ले, मेयर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, नेकपाका अध्यक्ष रेवती पन्त, सचिव कमल बुढाथोकी लगायत अन्य विभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

मन्त्री यादव हेलिकप्टर चार्टर गरेर आएका थिए । सूरुमा चक्रघट्टा गाउँमा गएका मन्त्री यादव उद्घाटन समारोह सकिएपछि प्रतियोगिता स्थलमा आईपुगेका थिए । बुधबार नै सर्लाही आएका डा. श्रेष्ठ मन्त्री यादवसँगै हेलिकप्टरमा विहिबार नै काठमाडौं फर्किएका छन् ।