सर्लाहीमा महिलाहरुले कोरोना विरुद्ध चेतना जगाउने

1789
पत्रकार सम्मेलनमा बोल्दै महिला नेतृ कल्पना कटुवाल तथा उपस्थित नेकपा जिल्ला अध्यक्ष रेवती पन्त एवं महिला नेतृहरु । (तस्बिर : अच्युतकुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल महिला संघ सर्लाहीले यसवर्ष साताव्यापी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा कोभिड–१९ (कोरोना) भाईरस विरुद्ध गाउँ गाउँमा सचेतना कार्यक्रम चलाउने भएको छ ।

आज (बुधबार) दिउँसो हरिवन स्थित सगुन सहकारीको सभाहलमा पत्रकार सम्मेलन गर्दै महिला नेतृहरुले ११० औं श्रमिक महिला दिवसको अवसरमा गरिने कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै महिला नेतृहरु माया बल, संजिता घिमिरे, अञ्जु पौडेल, गोमा विष्ट लगायतले कोरोना भाईरसको प्रकोप फैलिएकाले यस्तो समयमा परेको श्रमिक महिला दिवस भाईरस विरुद्ध नै सचेतना जगाउँदै मनाईने बताए । कार्यक्रम सञ्चालक महिला नेतृ कल्पना कटुवालले साताव्यापी कार्यक्रम अन्तर्गत २०६२/०६३ को जनआन्दोलन एवं मधेश आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुका परिवारलाई घर घरमै पुगेर सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले दिवस मनाउने क्रममा हाल विश्वव्यापी रुपमा त्रसित बनाईरहेको कोरोना भाईरस विरुद्ध गाउँ गाउँमा सचेतना जगाउने तथा शहिदका परिवारलाई घर घरमै पुगेर सम्मान गर्ने कार्यक्रम साह्रै रचनात्मक भएको भन्दै महिला नेतृहरुको प्रशंसा गरे । साथै उनले कार्यक्रम सफलताको शुभकामना समेत प्रकट गरे ।

कार्यक्रममा महिला नेतृहरु तारा पोखरेल, रञ्जना सरकार, मिरा कार्की, विभा नेपाल, पार्वती विश्वकर्मा, खड्ग कुमारी थापा लगायतको उपस्थिती रहेको थियो । यसवर्ष महिला संघको केन्द्रीय कमिटीले ‘महिला समानता र संविधान कार्यान्वयनका लागि ऐक्यबद्धा हौं, ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाऔं’ भन्ने मूलनारा तय गरेको छ भने प्रदेश २ कमिटीले ‘मदिरा मुक्त प्रदेश घोषणा गरौं, महिला हिंसाको अन्त्य गरौं’ मूलनारा तय गरेको कार्यक्रममा जानकारी गराईयो ।