फुटबल प्रतियोगिता उद्घाटनका दिन भोली बागमती नगरपालिकामा सार्वजनिक बिदा

425


बागमती – सर्लाहीको बागमती नगरपालिकाले भोली (बिहिवार) सार्वजनिक बिदा दिएको छ ।

‘प्रदेश नं. २ को सान, राजा जनक प्रति सम्मान’ भन्ने मूल नाराका साथ भोलीबाट सुरु हुन लागेको चौथो राजर्षि जनक कप फुटबलको उद्घाटनका अवसरमा भोली एक दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले वुधवार सूचना निकालेर जानकारी गराएका हुन् । भोली बागमती नगरपालिकामा नगरपालिका अन्तर्गत संचालित कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ ।

बागमती नगरपालिकास्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको भोली दिउँसो एक समारोहका बीच पूर्व उपप्रधानमन्त्री एवं सक्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र प्रदेश सरकारका आर्थिम मामिला तथा योजना मन्त्री विजय कुमार यादवको विशिष्ट आतिथ्यतामा उद्घाटन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती युवा क्लब सर्लाही र ब्वाईज युनियन क्लब काठमाण्डौंले प्रतिस्पर्धा गर्दैछन् । बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा सुरु हुन लागेको प्रतियोगितामा दुई विदेशीसहित १२ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र बागमती नगरपालिकासँगै नव जनजागृति युवा क्लब सीमरा बारा, ब्वाईज युनियन क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब काठमाण्डौं, सुदूरपश्चिम–११, सुदूरपश्चिम, एनआरटी क्लब काठमाण्डौं, प्लानिङ ब्वाईज काठमाण्डौं, जाउला खेल यूथ क्लब ललितपुर र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले बताए । यस्तै दुई विदेशी क्लब उर्गेन एकेडेमी भुटान र कंचनजंगा फुटबल क्लब सिक्किमले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

चैत २ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले १० लाख रुपैंया र उपबिजेताले ५ लाख रुपैंया नगद पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपियाँ नगद प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।