हरिवन बजारमा १४ करोडको लागतमा व्यापारिक भवन निर्माण सूरु

343
व्यापारिक भवनको शिलान्यास गर्दै नगरप्रमुख गणेशप्रसाद प्रसाई । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन बजारमा झण्डै १४ करोड रुपैयाँ लागतमा व्यापारिक भवन बनाउन सुरु गरिएको छ ।

नगरपालिकाको १३ करोड ८६ लाख ७७ हजार ३४८ रुपैयाँ ७० पैसा लागतमा व्यापारिक भवन बनाउन सुरु गरिएको हो । दुई तले भवनमा जम्मा १३६ वटा सर्टर रहने छन् । २०७७ साल माघ १९ गतेसम्म भवन निर्माणको काम सक्ने गरी ठेक्का लगाइएको हरिवन नगरपालिका कार्यालयले जनाएको छ ।

हरिवन नगरपालिका कार्यालयदेखि पूर्वको बजार क्षेत्रमा ४ वटा भवन निर्माण हुने बताईएको छ । व्यापारिक भवन निर्माण कार्यको सोमवार एक समारोहबीच नगरप्रमुख गणेशप्रसाद प्रसाईले शिलान्यास गरे । हिन्दु, मुस्लिम र वौद्ध धर्मका धर्मगुरुबाट एकैसाथ पाठ गराएर व्यापारिक भवनको शिलान्यास गरिएको हो ।

नगरप्रमुख प्रसाईले हाल नगरपालिकाको जग्गामा व्यवसायी आफैले स–साना टहरा बनाएर व्यापार व्यवसाय गरिरहेको अवस्थामा व्यवस्थित किसिमको नयाँ भवन बनेपछि व्यापार गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजाको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रेणुका पौडेल, अन्य जनप्रतिनिधि, राजनीतिज्ञ, व्यापारी, वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।