हरिवन दुर्घटना अपडेट : मृतकका परिवारलाई ९ लाख उपलब्ध गराउने सहमति पश्चात चक्काजाम खुल्यो

3401
मंगलबार बिहान तीनघरेमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै स्थानीय तथा चक्काजाम गरेका कारण लामवद्ध सवारी साधन । (तस्बिर : उज्यालो अभियान)

हरिवन (तीनघरे) – हरिवन नगरपालिकाको सासापुर अन्तर्गत तीनघरेमा स्थानीयले गरेको चक्काजामका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अहिले दिउँसो दुईबजेबाट खुलेको छ ।

सोमबार राती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले मंगलबार बिहान १० बजेबाट पुनः पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए । दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई बीमाबाट आउने पाँच लाख रुपैंया क्षतिपूर्ती बाहेक ठक्कर दिने ट्रक सञ्चालकबाट साँढे २ लाख तथा ट्रक आवद्ध संस्था नारायणी यातायात प्रालिले डेढ लाख रुपैंया थप क्षतिपूर्ती दिने लिखित सहमति पश्चात स्थानीयले गरेको चक्काजाम खुलेको हरिवन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर वाईबाले जानकारी दिए ।

हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्ष वाईबा, हरिवन–९ का वडाध्यक्ष सीताराम पोखरेल, प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौर, मृतकका आफन्त, नारायणी यातायात प्रालिका प्रतिनिधि लगायतबीच ईलाका प्रहरी कार्यालय हरिवनमा झण्डै अढाई घण्टा चलेको छलफल पश्चात उक्त सहमति भएको हो । सहमति भएपछि सोमबार राती देखि नै ईलाका प्रहरी कार्यालय हरिवन भित्र राखिएको मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाउन लागिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए ।

मंगलबार बिहान १० बजेदेखि जारी चक्काजामका कारण सयौं सवारी साधनको लाम लागेको थियो भने हजारौं यात्रु अलपत्र परेका थिए । सोमबार राती पनि ४ घण्टा चक्काजाम गरेर राती १२ बजे स्थगित गरेका स्थानीयले मंगलबार पुनः चक्काजाम गरेका हुन् । मंगलबार बिहान यातायात व्यवसायी संघका प्रतिनिधि आएर क्षतिपूर्ती लगायतमा सहमति गर्ने शर्तमा सोमबार राती मृतकका आफन्त एवं स्थानीयले चक्काजाम स्थगित गरेका थिए । तर मंगलबार बिहान यातायात व्यवसायी संघका प्रतिनिधि नआएपछि स्थानीयले पुनः चक्काजाम गरेका थिए ।

सोमबार राती ७ बजे पूर्वबाट आईरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले किच्दा मोटरसाईकलमा सवार हरिवन नगरपालिका–४ तीनघरे निवासी २१ वर्षीय रोशन भूजेलको मृत्यु भएको थियो । पूर्वबाट आईरहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा भूजेलले चलाईरहेको मोटरसाईकल विपरित दिशाबाट आएको मोटरसाईकलसँग ठक्कर खाँदा भूजेल राजमार्गमा लड्न पुगेको र पछाडीबाट आईरहेको ट्रकले किचेको प्रहरीले जनाएको छ । अर्को मोटरसाईकलमा सवार दुईजना भने राजमार्गबाट तल खेततिर लडेको र सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घटना लगतै ठक्कर दिने ट्रकमा आक्रोशित स्थानीयको भिडले आगो लगाएको छ । आगजनीबाट ट्रक पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनायो । प्रत्यक्षदर्शीका अनुसार ट्रकको ठक्करबाट भूजेलको टाउको नै क्षतविक्षत भएको छ ।