हरिवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशित स्थानीयले ट्रक जलाए

1471
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनको तीनघरेमा सोमबार राती आक्रोशित स्थानीयले लगाएको आगोका कारण जलिरहेको ट्रक । (तस्बिर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

घनश्याम बलम्पाकी/तीनघरे – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिकाको सासापुर अन्तर्गत तीनघरेमा अहिले (सोमबार) राती दुर्घटना हुँदा एकजनाको मृत्यु हुँदा एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट आईरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सबार एकजनाको मृत्यु भएको हो । ठक्कर दिने ट्रकलाई स्थानीयले आगो लगाएका छन् । आगजनीबाट ट्रक पूर्ण रुपमा ध्वस्त भएको छ भने साँझ साँढे ७ बजेदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले दुर्घटनामा एकजनाको मृत्यु भएको जानकारी दिए । स्थानीय बासिन्दाले दुर्घटनामा संलग्न ट्रकमा आगजनी गरेको समेत उनले जानकारी दिए । ‘ट्रकको ठक्करबाट दुर्घटनामा एकजनाको मृत्यु भएको खबर आएको छ’, प्रनाउ राठौरले उज्यालो अभियान दैनिकसँग भने, ‘अहिले म घटनास्थल जाँदैछु, विस्तृतमा केहीबेरपछि जानकारी आउँछ ।’

ट्रकको ठक्करबाट मृतकको टाउको नै पूरै क्षतविक्षत भएको प्रहरी स्रोतले जनाएको छ । मृतकको शव हाल ईलाका प्रहरी कार्यालय हरिवनमा राखिएको बताईएको छ ।