सर्लाहीको लक्ष्मीपुरमा वृद्धलाई आक्रमण गरी घाईते बनाउने बँदेललाई गाउँले मिलेर मारे

330

सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत लक्ष्मीपुरमा सुक्रवार बिहान जंगली बँदेलको आक्रमणमा परी एक वृद्ध गम्भीर घाईते भएका छन् ।
खेतमा घाँस काट्न गएका बेला अचानक देखा परेको बँदेलको आक्रमणमा परी स्थानीय अन्दाजी ६०÷६५ वर्षका हरेराम चमार घाईते भएका हुन् । चमारलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि नमूना अस्पताल हरिवनतर्फ ल्याइएको छ । यसैबीच वृद्धलाई आक्रमण गरी घाईते बनाउने बँदेललाई गाउँलेले घेरा हालेर मारेका छन् ।
केही समय अघिमात्रै सरकारले मानव आक्रमणमा उत्रने तथा बालीनाली नष्ट गर्न खेतबारीमा पस्ने बँदेललाई मार्न पाउने अधिकार दिएको थियो । मान्छेलाई आक्रमण गरेपछि गाउँलेले मारेको बँदेल कानुनी प्रक्रिया पूरा गरी गाड्नका लागि डिभिजन वन कार्यालय सर्लाहीको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
पछिल्लो समय बढ्दो वन विनाशका कारण जंगली बँदेल आहार र सुरक्षाको खोजीमा किसानको खेतबारीमा आउन गरेका छन् ।