सर्लाहीको नारायणखोलामा बाघको आतंक, स्थानीय रातभर जाग्राम

सर्लाहीको उत्तरी चुरे क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा जंगली बाघको आतंकले स्थानीय वासिन्दा त्रसित भएका छन् ।
जिल्लाकै दुर्गम मानिने नारायणखोलास्थित डाईनी खोला क्षेत्रमा एक साताअघि अचानक देखा परेको बाघले मान्छे र चौपायलाई आक्रमण गर्न थालेपछि स्थानीय वासिन्दा त्रसित भएका हुन् । बाघले अहिलेसम्म एक जनालाई घाईते बनाएको छ भने दुईवटा गाई र छवटा बाख्रा मारिसकेको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
अघिल्लो हप्ताको वुधवार घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला बाघको आक्रमणमा परी डाईनी खोलाका २४ वर्षीय दुधराज तामाङ गम्भीर भएका थिए । तामाङको अहिले पनि काठमाण्डौंमा उपचार भइरहेको छ । यस्तै सोही बाघले गत शनिवार स्थानीय कान्छामान गोंबाको दुईवटा गाई मारेको छ भने एउटा गाईलाई घाईते बनाएको छ । यसैगरी आइतवार अर्का स्थानीय सनसरसिंह दोङको छवटा बाख्रा बाघले मारेको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
यसरी बाघले धमाधम मान्छे र चौपायमाथि आक्रमण गर्न थालेपछि पूरै बस्ती त्रसित भएको नारायणखोलाका वडाध्यक्ष सुबाईसिंह ब्लोनले जानकारी दिए । बाघले आक्रमण गर्ने डरले कोही पनि घरबाहिर निस्किन सकेका छैनौँ भन्ने सूचना गाउँबाट स्थानीयले गराईरहेका छन्, लालबन्दीस्थित वडा कार्यालयमा रहेका ब्लोनले भने, ‘मार्न पनि कानुनले दिँदैन्, स्थानीय वासिन्दा डराएर घरभित्रै बस्नु परिरहेको छ ।’
वडाध्यक्ष ब्लोनका अनुसार डाईनीखोलाको अधेरी वन क्षेत्रमा बसिरहेको बाघले मान्छे तथा चौपाय जे देखेपनि झम्टिने गरेको छ । बाघको आतंकले रातभर जाग्राम बसिरहेको डाईनीखोलाका स्थानीय सनसरसिंह दोङले बताए । मान्छे वा चौपाय जे देख्यो त्यहीलाई झम्टिन्छ, मान्छेले लगाउने जत्रो पाइला भएको बाघ देखा परेको छ, दोङले उज्यालो अभियानसँग नारायणखोलाबाटै टेलिफोनमा कुरा गर्दै भने, ‘अचानक बस्तीमा बाघ देखा परेपछि त्रसित भएका छौँ ।’
स्थानीय वासिन्दाले यसअघि कहिल्यै देखा नपरेको बाघ अहिले अचानक देखा परेको बताएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!