सर्लाहीमा हावाहुरीसहित वर्षा

846

सर्लाहीमा अहिले सिमसिम पानी परिरहेको छ ।

बिहानैदेखि आकाशे धुम्मिएर बादल लागेपनि दिउँसो ३ बजेपछि हल्का हावा चलेर पानी परिरहेको हो । अचानक मौसम बदली भई चिसो हावा चल्दा यस क्षेत्रका नागरिकले बिहानैदेखि चिसो महसुस गरिरहेका छन् ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले देशका विभिन्न स्थानमा बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन,’ मौसमविद् प्रधानाङ्गले भने । उनका अनुसार प्रि–मनसुनको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो ।

नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यसलाई हेर्दा अब प्रि–मनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म रहने गर्छ । त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आजराति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । पर्सी बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।